सफा टेम्पोलाई राहत, ३० वर्ष आयु तोकियो

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले २० वर्ष पुराना सवारीलाई विस्थापित गर्ने निर्णय गरेसँगै सकसमा परेका व्यवसायीहरुलाई राहत मिलेको छ । सरकारले विद्युतीय सफा टेम्पोको आयु ३० वर्ष तोकेपछि यातायात व्यवसायीलाई राहत मिलेको हो ।

सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीलाई उपत्यकाबाट हटाउने निर्णय गरे पनि विद्युतीय टेम्पोको हकमा यो व्यवस्था लागू नहुने भएको छ । सरकारले गत फागुनबाट सार्वजनिक सवारीलाई २० वर्षमा ‘स्क्र्याप’ गर्नुपर्ने नियम लगाएको थियो । यातायात व्यवस्था मन्त्रालयले यसअघि जारी गरेको सूचना राजपत्रमार्फत संशोधन गर्दै विद्युतीय टेम्पोको आयु ३० वर्ष तोकेको हो । अब २० वर्ष पुगिसकेका विद्युतीय टेम्पो थप १० वर्ष काठमाडौंमा ‘टर्सरी’ रुटमा चल्न पाउने भएका छन् । तर, त्यसका लागि सरकारले तोकेका विद्युतीय सवारीका मापदण्डहरु भने पूरा गर्नुपर्ने छ ।

टेम्पोलाई रंगरोगन र सजावट गरेर यात्रुमैत्री बनाई चलाउनुपर्ने व्यवस्था गरिएको छ । विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने हेतुले यस्तो निर्णय लिइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । ‘विद्युतीय सवारीले वायु प्रदुषण गर्दैनन् । ब्याट्री परिवर्तन गरेपछि त्यसको कार्यक्षमता पनि पूरानै अवस्थमा फर्कन्छ’–प्रवक्ता पाण्डले भने–‘विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहित गर्न यो निर्णय गरेका हौ ।’ उपत्यकाबाट २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णयपछि टेम्पोका स्वरोजगार मजदुरले चर्को विरोध गरेका थिए । उनीहरुले नाकाबन्दीको समयमा आफूहरुले निभएको भूमिाकको अवमूल्यन गरेर यस्तो निर्णय भएको भन्दै विद्युतीय सवारीको लामो आयु तोक्न माग गरेका थिए ।

सरकारले तेलबाट चल्ने सवारीसमबन्धी व्यवस्थालाई कायम राख्दै तीनपांग्रे विद्युतीय सवारीको आयु भने ३० वर्ष तोकेपछि स्वरोजगार टेम्पो मजदुर पनि खुशी भएका छन् । अहिलेसम्म नेपालमा विद्युतीय सवारीसाधनको उपस्थिति दयनीय छ । विद्युतीय परिवहन निर्माता तथा आयात संघको तथ्याङ्क अनुसार हाल सात सय सफा टेम्पो सञ्चालनमा छन् । सन् १९९३ मा थापाथली क्याम्पसमा आएको अमेरिकी आइएनजीओ युएसएआइडीका प्रतिनिधिले काठमाडौंमा गुडिरहेको बिक्रम टेम्पोलाई विद्युतीयमा परिवर्तन गर्न ‘आइडिया’ दिएका थिए । बिक्रम टेम्पोकै बडीमा सिटमुनि ब्याट्री राखेर नेपालमै बनाइएको हो, विद्युतीय टेम्पो । शुरुमा स्वच्छ यातायात भन्ने गरिएकोमा पछि त्यसलाई ‘सफा टेम्पो नाम दिइएको थियो ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्