सोलुखुम्बुमा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दुई घाइते

सहयात्रा टिभी

सोलुखुम्बु । चुनावी प्रचारका क्रममा सोलुखुम्बुमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा कांग्रेस र वाम गठबन्धनका एक–एक जना घाइते बनेका छन् ।

झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएको बताइएको छ । घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै तनावको स्थिति सिर्जना भएको स्थानीयले जानकारी दिएका छन् । गठबन्धनले शुक्रबार सोताङ्ग गाउँपालिकामा चुनावी सभा आयोजना तय गरी पोष्टर पमप्लेट टाँस्दै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले पोष्टर च्याँतेर फालेपछि तनाव सिर्जना भएको थियो ।

झडपपछि वाम गठबन्धनको टोलीले नेपाली कांग्रेसका उम्मेद्वारसहित कार्यकर्ताले हातहतियारसहित आक्रमण गरेको आरोप लगाएको छ । यता नेपाली कांग्रेस पक्षले भने आफूहरुको जीत सुनिश्चित देखिएकाले आफूमाथि आक्रमण भएको आरोप लगाएको छ । बाटोमा हिंडिरहेका बेला वाम कार्यकर्ताले एक्कासी ढुङ्गामुढा गरेका कारण स्थिति तनाबग्रस्त बनेको कांग्रेस पक्षको आरोप छ । तनाव भएपछि ईलाका प्रहरी कार्यालय सोताङ्गबाट खटिएको प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्