राष्ट्रपति भण्डारी दुवई जाँदै

सहयात्रा टिभी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका लागि भोलि (सोमबार) संयुक्त अरब इमिरेट्स (युएई) जाँदैछिन् । युएईका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा  भण्डारीले कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ ।

कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जाने छिन् । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औं वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवम् छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् । राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने छिन् ।

राष्ट्रपति भण्डारीका साथ  छोरी निशाकुसुम भण्डारी, आपूर्ती मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवम् परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनेछन् ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्