एशिया कपमा नेपालको ऐतिहासिक जीत

सहयात्रा टिभी

काठमाण्डौं । कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले एसीसी यू–१९ युथ एशिया कप क्रिकेटमा ऐतिहासिक जीत हात पारेको छ । मलेसियाको किनरारा ओभल मैदानमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जीत हात पारेको हो ।

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जीत सम्भव भयो । ब्याटिङमा ८८ रनको कप्तानी पारी खेलेका ऐरीले बलिङतर्फ ४ विकेट लिएपछि भारतको ब्याटिङ्ग पंक्ति धराशायी बनेको थियो । भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक शुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलहरुले अन्य भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् ।

कमल सिंह ऐरीको बलमा बोल्ड हुनुअघि ओपनर रानाले ४६ रन बनाए । त्यस्तैं कलरालाई ३८ रनको व्यक्तिगत स्कोरमा पवन सर्राफले रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए । मध्यम ओभरमा नेपाली स्पिनरहरु खेलमा हावी भए । मध्यक्रमका चार ब्याट्सम्यानलाई कप्तान ऐरीले पेविलियनको बाटो देखिएपछि भारतको इनिङ धराशायी बनेको थियोे । नेपालका लागि पवन सर्राफ र साहव आलमले २–२ विकेट लिँदा सन्दिप लामिछाने र कमल ऐरीले १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ऐरीको कप्तानी पारीको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

खेलको शुरुवात नेपालको राम्रो रहेको थिएन । २८ रन जोड्दा नेपालले २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले । जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् । भीम सार्कीले १५ रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । नेपालको पारी सकिन ८ बल बाँकी छँदा आउट भएका आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाए । कप्तान ऐरी खेलको म्यान अफ द म्याच चुनिए । नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशसँग २ विकेटको झिनो हार ब्यहोरेको थियो । नेपालले आफ्नो अर्को खेल मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्