यस वर्षको बाढीले १८ जिल्लामा ६१ अर्बको क्षति

सहयात्रा टिभी

काठमाडौं । गएको वर्षा यामको बाढीले नेपालका १८ जिल्ला प्रभावित बनाउँदा ६० अर्ब ७१ करोड बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय योजना आयोगले गरेको ‘बाढीपछिको पुनस्र्थापना आवश्यकता आंकलन’ अध्ययन प्रतिवेदनले यस्तो क्षतिको आँकडा सार्वजनिक गरेको हो ।

यो क्षति नेपालको कूल गार्हस्थ उत्पादनको करीब ३ प्रतिशत हो । त्यसमध्ये आवास क्षेत्रमा १९ अर्ब ५१ करोड, स्वास्थ्यमा ६२ करोड र शिक्षा क्षेत्रमा १ अर्ब १९ करोड बराबरको क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ । बाढीले उत्पादनमूलक क्षेत्रको कृषितर्फ ७ अर्ब २१ करोड, पशुपालनतर्फ १० अर्ब ६७ करोड र सिंचाइतर्फ १७ अर्ब ४६ करोड बराबरको क्षति पु¥याएको छ ।

प्रतिवेदनअनुसार यातायाततर्फ २ अर्ब ९३ करोड, खानेपानी र सरसफाइतर्फ ८८ करोड र ऊर्जातर्फ २२ करोड बराबरको क्षति पु¥याएको जनाइएको छ । अध्ययन प्रतिवेदनमा यस वर्षको बाढीले ३५ जिल्ला प्रभावित भएको उल्लेख छ । त्यसमध्ये मुख्य गरी तराई–मधेसका १८ जिल्ला बढी प्रभावित रहेको जनाइएको  छ । योजना आयोगले शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी, आवास र मानवीय बसोबासलाई आधार मानेर गरेको अध्ययनले बाढीबाट अति प्रभावित १८ जिल्लाका १७ लाख प्रभावितलाई सरकारले ७३ अर्ब २२ करोड ४८ लाखको ‘राहत तथा पुनस्र्थापना कार्यक्रम’ सञ्चालन गर्न सुझाव दिएको छ ।

प्रतिवेदनमा सहायता कार्यक्रम प्रभावकारी नहुने हो भने तराई क्षेत्रमा वर्षेनी आउने बाढी र डुबानका कारण नेपालमा आम्दानी, क्षमतालगायतका कुरामा क्षेत्रीय भेद बढ्दै जाने तथ्य पनि औंल्याइएको छ । अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । सो प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले पीडितको पुनर्वासमा सघाउन सरकारले छिटोछरितो राहतको कार्यक्रम ल्याउने बताए । यस वर्षको बाढीमा १३४ ले ज्यान गुमाएका थिए ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्