गौचन हत्याका पाँच आरोपी पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने मुख्य योजनाकार सहित आठ जना अझै फरार छन्। पक्राउ परेका आरोपीलाई आज (मंगबालबार) दिउँसो प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  शान्तिनगरस्थित ओमशान्ति चोकबाट नयाँ बानेश्वर जानेक्रममा गत असोज २३ गते अज्ञात समूहबाट गोली हानी गौचनको हत्या गरिएको थियो। प्रहरीले हत्याको मुख्य योजनाकार बाफलका समिरमान सिंह बस्नेत रहेको जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोटका राजीव स्याङ्तान, पर्सा कालिकामाइका शिवजी महतो, भारत विहारका मुकेश कुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ, सीतापाईलाका प्रकाश बुढाथोकी छन् । पत्रकार सम्मेलनमा कार्यदलका प्रमुख डीआइजी गणेश केसीले पक्राउ मध्ये स्याङ्तान ‘सुटर’ रहेको जानकारी दिए। उनका अनुसार महतो र पाण्डेले हतियार र मोटरसाइकलको व्यवस्था गरेका थिए। पाण्डे र बुढाथोकी पनि मोटरसाइकलको व्यवस्था गरेको प्रहरीले जनाएको छ।

गएको असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको थियो । उक्त टोलीमा केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक ईन्सपेक्टर छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ । हत्या अनुसन्धानका लागि बनेको प्रहरी कार्यदलले एक महिना पछि मंगलबार पत्रकार सम्मेलन मार्फत् गौचन हत्या फिरौतीकै लागि भएको जानकारी दिएको छ ।

 

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्