नेपाल–फिलिपिन्सको खेल बराबरी, अनिल गुरुङले लिए सन्यास
काठमाण्डौ । एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो पाँचौँ खेलमा फिलिपिन्ससँग बराबरी खेलेको छ । दुबै टिमले गोलका राम्रा अवसर पाए पनि गोल गर्न भने सकेनन् ।
एन्फा कम्लेक्स सातदोबाटोमा खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै खेलमा जित हासिल गर्ने लक्ष्य लिएको बताएका थिए । उनले भनेअनुसार खेल राम्रो देखिए पनि गोल भने हुन सकेन । यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो ।
छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालको एक अंक मात्र छ । फिलिपिन्स नौ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । नेपाली टोलीका कप्तान अनिल गुरुङले मंगलबारको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
१० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् । मंगलबारको खेल अनिलको ५० औं अन्तर्राष्ट्रिय खेल हो । भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मूल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।