तीन हजार दुई सय किशोरीले गर्छन् गर्भपतन

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौं उपत्यकामा मात्र वर्षमा तीन हजार दुई सय किशोरीले गर्भपतन गर्ने गरेका छन् । २० वर्षमुनिका उनीहरुले एक वर्षको अवधिमा यसरी गर्भपतन गराएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौले किशोरीहरुले गर्भपतन गराउने क्रम वर्षेनी बढिरहेको जनाएको छ । असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौन सम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको बताएका छन् । ‘सरकारले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था गरेको छ’–श्रेष्ठले भने–‘किशोर–किशोरीले असुरक्षित यौन सम्पर्क गर्ने र गर्भ बसेको अवस्थामा सुरक्षित गर्भपतन गराउने प्रचलन बढेको छ ।’

२० वर्षभन्दा कम उमेरका ठूलो संख्यामा किशोरीहरू गर्भपतन गराउनतर्फ लागेपछि सरकारले यसप्रति चासो र चिन्ता व्यक्त गरेको छ । सरकार मातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्याङ्कका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौंले एक प्रतिवेदन समेत तयार पारेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौंका अनुसार तीन आर्थिक वर्षमध्ये ०७२÷७३ मा गर्भपतन गराउनेको दर धेरै छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौंका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार ०७१–७२ मा १३ हजार ६०९ जनाले सुरक्षित गर्भपतन गराएका थिए । जसमध्ये २० वर्षमुनिका २५ प्रतिशत किशोरी थिए ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्