गगन र राजन–को पर्लान् रोजाइमा ?

सहयात्रा टिभी

काठमाण्डौं । दुई प्रखर युवा नेताका कारण काठमाण्डौं क्षेत्र नम्बर–४ को चुनावी मौहललाई सर्वसाधरणले निकै चासोका साथ हेरिरहेका छन् । एकसेएक उम्दा नेताको भिडन्तका कारण यहाँको प्रतिष्पर्धा निकै रोचक बन्ने देखिएको छ ।

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा र एमालेका युवा नेता डा. राजन भट्टराई प्रतिनिधिसभाका सदस्यका लागि मैदानबाट चुनौति पस्किरहेका छन् । थापा यसअघि २०७० सालको संविधानसभा चुनावमा त्यसै क्षेत्रबाट भारी मतका साथ विजय भएका थिए भने भट्टराई परराष्ट्र मामिलाका विज्ञका रुपमा संविधानसभामा मनोनित थिए । गगन थापा पहिलो संविधानसभामा कांग्रेसको समानुपातिक कोटाबाट सभासद भएका थिए । दुवै नेता विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा आएका कारण पनि उनीहरुको चर्चा बढी भइरहेको छ ।

एमालेका भट्टराई शान्त र बौद्धिक नेताका रुपमा परिचित छन् । काठमाण्डौं महानगरपालिका–१, ७, ८ र ३० तथा बुढानीलकण्ठ नगरपालिका–१, २, ८, ९, १०, ११, १२ र १३ मा फैलिएको यो क्षेत्रमा ४० हजार मतदता छन् । गएको स्थानीय तहको चुनावमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा वाम गठबन्धन बलियो मानिन्छ । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा एमालेले १७ हजार दुई सय ३९, माओवादी केन्द्रले ४ हजार ८७ गरी २१ हजार तीन सय २६ मत पाएको छ भने कांग्रेसले १४ हजार ७६ र राप्रपाले एक हजार सात ७३ गरी १५ हजार आठ सय ४९ मत पाएको छ ।

अर्कोतर्फ पूर्णत शहरी इलाकामा पर्ने यो क्षेत्रमा व्यक्ति र चुनवी एजेण्डाले पनि उत्तिकै प्रभाव पार्ने पक्का छ । २०७० सालको चुनावामा थापाले त्यसै क्षेत्रमा एमालेका उम्मेद्वार निर्मल कुइँकेललाई झण्डै दोब्बर मतले पराजित गरेका थिए । दुवै जनाले क्षेत्रको विकास निर्माण र धूलोधुँवा मुक्त बनाउने प्रतिबद्धतालाई नै मुख्य चुनावी एजेण्डा बनाएका छन् । २०६२–०६३ को जनआन्दोलन पछि नै दुवै जनाले नेपाली राजनीतिमा फरक पहिचान बनाएका हुन् । मतदाताको आँखामा परेका यी दुई उम्मेद्वारको बाँकीको राजनीतिक भविष्य कस्तो रहने छ भन्ने जान्न दोस्रो चरणको नतिजा कुर्नुको विकल्प छैन ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्