हिउँदे बाली सुक्न थालेपछि चिन्तामा किसान

सहयात्रा टिभी

खोटाङ । लामो सय वर्षा नहुँदा र जिल्लामा सिंचाइको पर्याप्त सुविधा नहुँदा हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्न थालेको छ ।

सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा दलहन र तेलहनलगायतका बालीनाली सुक्न थालेको जिष्ट कृषि फर्म बाहुनीडाँडाका सञ्चालक फौदसिं कार्कीले बताए । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो क्षेत्रमा मुहान सुकेपछि पिउने पानीको समेत अभाव भएको छ । भदौ यता पानी नपर्दा हिउँदे मकै, मास, मस्याम, बोडी, गहत, तिल, फिलुंगेलगायतका बालीनाली ओइलाएर सुकेको किसानको भनाइ छ । मुख्य बालीनाली नै सुक्न थालेपछि किसान चिन्तित छन् । पानी नपर्दा केराको बोट समेत ओइलिन थालेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका किसानले लगाएका हिउँदे बाली सुक्न थालेको हो । विशेषगरी दूधकोशी र सुनकोसी किनारभन्दा केहीमाथिका गाउँमा खडेरीको समस्या छ । यसअघिका वर्षसम्म भदौ असोजसम्म सामान्य वर्षा हुने गरेको भए पनि यस वर्ष भने पानी नपरेको किसानको भनाई छ । पानी नपर्दा अधिकांश बालीनाली सप्रिएका छैनन् । सिंचाइ अभावमा सो क्षेत्रका स्थानीय आकाशे पानीको भरमा खेतीपाती गर्न बाध्य छन् ।

कम पानी पर्ने भएकाले हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामध्ये अधिकांश वडा सुक्खाग्रस्त क्षेत्र मानिन्छ । यसअघि नै हलेसी तुवाचुङ नगरपालिकाको सात वडा सुक्खाग्रस्त क्षेत्रकारुपमा घोषित भइसकेको अवस्थामा नगरसभाको पहिलो बैठकले बाँकी रहेका थप चार वडा धितुङ, सल्ले, अर्खौले र राजापानीलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणाका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।
–––

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्