स्वास्थ्यका ११ भवन बन्दै

सहयात्रा टिभी

बाग्लुङ । यस वर्ष ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् । बाग्लुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी नौ स्वास्थ्यचौकीका भवन बन्ने भएका हुन् ।

भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्य चौकी भवन बन्ने छन् ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङका अनुसार भवन निर्माणको काम अघि बढाइएको छ । प्राथमिक स्वास्थ्य अस्पताल न्यूनतम १५ श्ययाको बन्ने कार्यालय प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार अघिल्लो र चालु आवमा गरी जिल्लाभर ३७ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने प्रक्रिया अघि बढेको छ ।

स्वास्थ्य मन्त्रालयअनुसार चालु आवमा बन्ने भवन शहरी विकास तथा भवन डिभिजन कार्यालय अन्तर्गत निर्माण हुने छन् । भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ बन्ने भवन ‘एकीकृत डिजाइन’ का बन्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताए ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्