मुस्ताङमा नेकपा एमाले विजयी

सहयात्रा टिभी

मुस्ताङ । पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा एमाले विजयी भएको छ ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभा १ (क) मा एमालेका इन्द्रधारा विष्ट एक हजार १६७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी छिरिङधावा गुरुङले ६५७ मत ल्याए । यसैगरी, प्रदेशसभा १ (ख) मा एमालेकै महेन्द्रबहादुर थकालीले दुई हजार ५८४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका छिरिङ गुरुङले दुई हजार २५९ मत प्राप्त गरेका छन् । नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्