मनाङ प्रतिनिधिसभामा एमाले, प्रदेशमा कांग्रेस र स्वतन्त्र निर्वाचित

सहयात्रा टिभी

लमजुङ । हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा (एमाले) र प्रदेशसभामा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेद्वार निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा (एमाले) का उम्मेद्वार पोल्देनछेपाङ गुरुङ निर्वाचित भएका छन् । नेका मनाङका सभापति एवं पूर्व राज्यमन्त्री समेत रहेका नेका उम्मेद्वार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेद्वार पोल्देनछोपाङ गुरुङ निर्वाचित भएका हुन् । विजयी पोल्देन छोपाङले दुई हजार ३०० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी टेकबहादुरले दुई हजार २१ मत पाए । खसेको मतमध्ये चार हजार ३२१ मत सदर भयो भने १६ मत बदर भएको छ । नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा चार हजार ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पाँच हजार ८८१ मतदाता छन् ।

प्रदेशसभाका सदस्यका लागि नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेद्वार चिन्तबहादुर घलेले प्रदेशसभा (क) बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले पराजित गर्दै विजयी भएका छन् । विजयी घलेले ९९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गरेका छन् । मनाङ (क) मा दुई हजार १७९ मतदाता रहेकामा एक हजार ९०१ खसेको थियो ।

प्रदेश सभा (ख) मा दिपक मनाङ्गे भनेर चिनिने स्वतन्त्र उम्मेद्वार राजीव गुरुङ निर्वाचित भएका छन् । गुरुङले एक हजार ४१० मत पाएका छन् भने प्रतिद्वन्द्वी नेकाका कर्म गुरुङ ३९० मतले पराजित भएका छन् । उनले एक हजार २० मत प्राप्त गरेका छन् । एमाले उम्मेद्वार खाण्डा लामा गुरुङले उम्मेद्वारी फिर्ता लिंदै राजीव गुरुङलाई समर्थन जनाएका थिए ।
जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिस गरे पनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेद्वार बनाएको थियो । मनाङ्गेले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्