इलाममा बाम गठबन्धनको ‘क्लिन स्विप’

सहयात्रा टिभी

इलाम । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा इलाममा बाम गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ । इलामको १ र २ नम्बर क्षेत्रको प्रतिनिधि तथा प्रदेशसभा सबैमा माओवादी गठबन्धनले विजय हासिल गरेको हो । वाम गठबन्धनले क्लिन स्विप गरेसँगै लोकतान्त्रिक गठबन्धनको सबै किल्ला कमजोर बनेको छ । इलाममा वामहरुको अहिलेसम्मकै ठूलो जीत हो ।

पूर्व प्रधानमन्त्री तथा वाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नम्बर–१ बाट भारी मतान्तरले प्रतिद्वन्द्वीलाई हराउँदै विजयी बनेका छन् । खनाल ३६ हजार ८०७ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत ल्याएका छन् । खनाल र कट्टेलको मतान्तर १७ हजार १७० रहेको छ ।

इलाम क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेद्वार वाम गठबन्धनका एमाले नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ ९ हजार ६५४ मतान्तरसहित विजयी बनेका छन् । नेम्वाङ्गले ३६ हजार ५१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभातर्फ इलाम क्षेत्र नम्बर–१ को (१) मा बाम गठबन्धनकी एमाले उम्मेद्वार खिनु लङ्वा लिम्बूले १८ हजार ६८६ मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देबेन्द्र राईले ९ हजार ३२७ मत ल्याएका छन् । लिम्बू र राईबीचको मतान्तर ९ हजार ३५९ छ । क्षेत्र नम्बर–१ को (२) मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्वार काजीमान कागतेले ७ हजार ९६५ मतान्तरसहित विजयी बनेका छन् । कागतेले १७ हजार ९८६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार दुर्गाप्रसाद बरालले १० हजार २१ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर–२ को (१) मा बाम गठबन्धनतर्फबाट नेकपा एमालेका उम्मेद्वार रामबहादुर राना मगर ३ हजार २०९ मतान्तरले विजयी भएका छन् । रानाले १८ हजार ३१३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रसका डम्बर खड्काले १५ हजार १०४ मत पाएका छन् । क्षेत्र नम्बर–२ को (२) मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार धिरेन शर्मा (रमण) पनि ३ हजार ६५१ मन्तान्तरले विजयी बनेका छन् । शर्माले १४ हजार ७१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र देवानले ११ हजार ६५ मत ल्याएका छन् । इलाममा निर्वाचित सबै उम्मेद्वारलाई प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले विजयी प्रमाण–पत्र प्रदान गरेका छन् ।

इलाममा २ लाख ४० हजार ४६ मतदातामध्ये एक लाख ३५ हजार ५८४ मत झरेको निर्वाचन थियो । इलामका सबै क्षेत्रमा क्लिनस्विप गर्न सफल बनेको वाम गठबन्धनले इलाममा ¥याली निकाल्ने तयारी गरिरहेको छ । अहिले इलामका चोक, गाउँदेखि, निर्वाचन अधिकृतको कार्यालय परिसरमा वाम गठबन्धनका उम्मेद्वार, नेता–कार्यकता र शुभेच्छुकहरु जीतको खुशीयाली साटासाट गरिरहेका छन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्