केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनमतको कदर गरौं

सहयात्रा टिभी

                                                               सम्पादकीय

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणम सार्वजनिक हुने क्रममा छन् । अहिलेसम्मको नतिजाले वाम गठबन्धनले दुई तिहाइ बहुमत पु¥याईसकेको छ । यसअघिको पहिलो ठूलो दल नेपाली कांग्रेस लगभग २२ सिटमा खुम्चिएको छ । अन्य केहि साना दल मुस्किलले राष्ट्रिय दलमा पर्न सफल भएका छन् । संविधानको व्यवस्था र हालको निर्वाचन परिणामले ६ वटा जति दलहरुले मात्र राष्ट्रिय दलका मान्यता पाउने अवस्था सिर्जना भएको छ ।

प्रतिनिधिसभातर्फको कूल एकसय १० सिटमध्ये वाम गठबन्धनले अहिलेसम्म एकसय १५, लोकतान्त्रिक गठबन्धनले २२ सिट हात पारेको छ । संघीय समाजवादी फोरम १० र राष्ट्रिय जनता पार्टी ११ सिटको अवस्थामा छन् । प्रत्यक्षतर्फको निर्वाचनको अन्तिम नतिजा आईरहँदा वाम गठबन्धनकै अग्रता देखिएको छ । अझै समानुपातिकतर्फको अन्तिम नतिजा गणनाकै क्रममा रहेको छ । समानुपातिकको हालको अवस्थामा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखिएका छन् । अहिलेसम्मको मतपरिणामको संकेतलाई मध्यनजर गर्ने हो भने समानुपातिकको अवस्था करीब–करीब यस्तै हुन र आउन सक्ने राजनीतिक विश्लेषकहरुले समेत गर्दै आएका छन् ।

स्थानीय तहको निर्वाचनदेखि नै देशभर वाम लहर देखिएको छ । अझ प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठजोड गर्दै निर्वाचनमा सहकार्य गरेपछि देश वाममय देखिएको छ । निर्वाचनको परिणामले जुन पार्टीलाई जुन आकार दिए पनि देशमा संविधान र संघीयता कार्यान्वयनको बाटो खुलेको छ । निर्वाचनपछि देशले आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा काँचुली फेर्ला भन्ने जनअपेक्षा रहेको छ । नेपालका निर्वाचनहरुले दलहरुलाई विभिन्न समय र परिस्थितिमा पार्टी र विचार सुधारकालागि संकेत गर्दै आएको छ ।

जनताको मतकै कारण कहिले काँही कुन दलको आकार बढ्ने र कहिले कुन दलको आकार साँघुरिने गरेको छ । निर्वाचनको यो परिणामलाई जित्ने–हार्ने सबै दलहरुले जनाधिकार सम्झेर आफ्ना भावी नीति तथा कार्यक्रमहरुमा सुधार गर्दै जनतासामु जानु पर्छ । निर्वाचनले दलहरुको आकार खुम्चिनुमा नागरिकको असहयोग होइन पार्टी, नेता, सिद्धान्त र जनप्रिय कार्यक्रमहरुको कमी पो भयो कि भन्ने कुरामा दलहरुले विचार पु¥याउँदै आउँदा दिनमा आफूलाई समसापेक्ष र जनसेवकका रुपमा रुपान्तरण गर्न जरुरी छ । एक पटक जनमत आफूतिर बढी भयो भनेर हौसिने र जनताले हामीलाई चाँही कम भोट दिए भनेर निरास बन्ने भन्दा पनि यसलाई जनताले काम गर्न दिएको अवसर र सुधार हुन दिएको मौकाको रुपमा बुझ्न आवश्यक छ । चुनावको सबै मत परिणाम आइसकेको ३० दिनभित्र सरकार गठनको प्रक्रिया शुरु हुने संवैधानिक व्यवस्था छ ।

यो स्वभाविक प्रक्रिया पनि हो । चुनावको नतिजा आउँदै गर्दा र वाम गठबन्धनका उम्मेद्वारको विजय अघि देखिइरहेका बेला विजयी उम्मेद्वार र पार्टी शीर्ष नेताहरुको अभिव्यक्ति विगतको भन्दा केहि परिपक्व आइरहेको छ । यो खुशीको कुरा पनि हो । वाम गठबन्धन गरेको मुख्य दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका स्वयम् अध्यक्षहरुले नै चुनाव लोकतान्त्रिक प्रक्रियाको अभ्याससँगै दलहरु जनताबाट अनुमोदन हुने स्वभाविक प्रक्रिया मात्र रहेको बताइरहेका छन् । हार–जीत जसको जे भए पनि देशको समुल विकासका लागि प्रतिपक्षी दलहरुलाई पनि सँगसँगै लैजान सकिने अभिव्यक्ति एकदमै सकारात्मक पक्ष हो । यदि सरकार निर्माणको अवसरमा पुगेका विजयी दलका शीर्ष नेताहरुको यो अभिव्यक्ति व्यवहारमा पनि लागू भयो भने यो देश र जनता दुबैको हितमा हुने कुरा निर्विवाद छ ।

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्