पर्यटक लोभ्याउँदै ऐतिहासिक जुरे गुफा

सहयात्रा टिभी

पाल्पा । प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् ।

जुरे गुफा क्षेत्र साँच्चीकै प्राकृतिक रुपमा मनमोहक र सुन्दर रहेको छ । पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि प्रकृतिसँग रमाएर समय बिताउने गरेको पाइन्छ । यसको पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा, पश्चिम भेग एवम् सहलकोटको फेदीमा रामपुर उपत्यका पर्छ । यहाँबाट धौलागिरी, माछापुच्छ«े हिमालको लोभलाग्दो दृष्य अवलोकन गर्न सकिन्छ ।

रामपुरबाट जुरे गुफासम्म जाने सडक निर्माण भएपछि अहिले यहाँ पर्यटकको आकर्षण बढ्न थालेको हो । यहाँको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृष्यले जोकोहीलाई मनमोहित पारिरहेको हुन्छ । जुरे गुफा जुरे लेकका नामले समेत परिचित छ । जुरे गुफा क्षेत्रमा झण्डै ५० को हाराहारीमा साना–साना गुफा रहेका छन् । विसं २०३८ मा यस क्षेत्रका स्थानीयवासीले चमेरा मार्न जङ्गलमा जाँदा गुफा फेला परेको कथन छ । गुफाभित्र नाग, सर्प, भगवानका विभिन्न आकृति, तरबार जस्तो आकृति, केराको खाप, गाईको थुनहरुको आकृति देखिन्छ । दुई तलामा रहेको यस गुफाको माथिल्लो तला १० मिटर र तल्लो तला झण्डै ६० मिटरभन्दा बढी लम्बाइको रहेको छ ।

सहलकोटको उच्च भेगमा वनभित्र रहेको यस गुफामा पौराणिक समयमा भुरे राजाहरुले बसोबास गरी आफ्ना विपक्षीहरुसँग यहाँबाट लडाईं लडेको स्थानीयवासी बताउँछन् । अझै पनि गुफा आसपासका परिसरमा गोलीहरुको अवशेष फेला पर्ने गरेको स्थानीय बासिन्दा गनबहादुर विक बताउँछन् । रामपुर नगरपालिकाको केन्द्रबाट गाडीमा झण्डै दुई घण्टाको समयमा जुरे गुफा पुगिन्छ । यहाँ एक महिनामा झण्डै ३ सयदेखि ४ सयको हाराहारीमा पर्यटक भित्रने गरेका छन् ।

स्थानीय ठूलो पहाड सामुदायिक वन समूहका उपभोक्ताले गुफा आसपासका क्षेत्रमा सौन्दर्यता बढाउन तेजपत्ता, अम्रिसोलगायतका बोटबिरुवा रोपण गरेपछि यस क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको वन समूहका अध्यक्ष रामबहादुर सारु बताउँछन् । ‘यसको भौतिक पूर्वाधार विकास र विस्तार गर्न सकेको खण्डमा यसलाई नेपालकै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सकिन्छ’–सारुले भने । जुरे गुफाको ऐतिहासिक महत्व र पर्यटकको आकर्षण बढ्दै जाँदा यो ठाउँ दिनहुँ शैक्षिक अवलोकन भ्रमण, घुमफिर गर्ने स्थल तथा प्रेमी–प्रेमिकाका लागि एकान्तस्थल बन्न पुगेको छ ।

प्रकाशित : 15 December, 2017

प्रतिक्रिया दिनुहोस्