हात्तीको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई सहयोग
राजविराज । हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–२ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई बिहीबार ५० हजार आर्थिक सहयोग गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत जीविकोपार्जनमा सहयोगका लागि मृत्यु भएकी फुलवादेवीका पति बिलेती तैथवार यादवलाई कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले सो रकम प्रदान गरेको स्थानीय राजकुमार पासवानले जानकारी दिए ।
कोशीटप्पु वन्यजन्तु आरक्षका निमित प्रमुख संरक्षण अधिकृत चुमन ठाकुर, बदगामा–जगतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष तथा कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेकी रेणु साह र शत्रुभञ्जन गुल्मका गुल्मपति समेतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको बताइएको छ । मंसिर १२ गते कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केको हात्तीले फुलवादेवी यादवलाई आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।