बैतडीमा छ उम्मेद्वारको धरौटी जफत
बैतडी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वार बनेका बैतडीका छ जनाको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेद्वार बाहेकका अन्य सबै छ जना उम्मेद्वारको धरौटी जफत भएको हो ।
कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानुन बमोजिम राजनीतिक दलका उम्मेद्वारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । बैतडीमा प्रतिनिधिसभातर्फ पाँच जनाको उम्मेद्वारी परेकामा तीन जनाकोे धरौटी जफत भएको छ । प्रदेशसभा (क) बाट उम्मेद्वारी दिएका पाँच जनामध्येबाट पनि तीन जनाको धरौटी जफत भएको छ । प्रदेशसभा (ख) मा भने दुई जना मात्रै उम्मेद्वार रहेकामा कसैको पनि धरौटी जफत भएको छैन ।
प्रदेशसभा तथा प्रतिनिधिसभामा उम्मेद्वार बनेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) राप्रपाका कुनै पनि उम्मेद्वार धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । धरौटी जफत हुने उम्मेद्वारले प्रतिनिधि र प्रदेशसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा ६९ हजार ११९ मत सदर भएको थियो । यस्तै, प्रदेशसभामा ‘क’ क्षेत्रमा ३८ हजार १८ मत खसेकामा ३४ हजार ८८२ मत सदर भएको हो भने प्रदेशसभा (ख) क्षेत्रमा ३८ हजार १५५ मत खसेकामा ३५ हजार ५६५ सदर भएको थियो ।
प्रतिनिधिसभामा धरौटी जफत हुने उम्मेद्वारहरुमा एकीकृत राप्रपा (राष्ट्रवादी) का त्रिलोकबहादुर चन्द, विवेकशील–साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी रहेका छन् । यस्तै , धरौटी जफत हुने प्रदेशसभा ‘क’ मा राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे रहेका मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।
उनले भने–‘कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम उनीहरुको धरौटी जफत भएकोे छ ।’बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता रहेकामा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।