राइनोजको दमदार प्रस्तुती
काठमाडौं . राजधानीमा जारी टीभीएस ईपीएल टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा पोखरा राइनोज १० विकेटले विजयी भएको छ । चितवन टाइगर्सले दिएको १ सय १४ रन पछ्याएको पोखराले १७ दशमलव ४ ओभरमा विना कुनै विकेटको क्षतिमा १ सय १६ रन बनाएको हो ।
पोखराका लागि पाकिस्तानी ब्याट्सम्यान इसरार उल्लाहले अर्धशतकीय पारी खेल्दै टीमको जीत सहज बनाए । पोखराका लागि ओपनिङमा आएका इसरार उल्लाहले ६ छक्का र १ चौकाको मद्दतमा अविजित ६१ रन बनाए भने सुनिल धमलाले ३ चौका र २ छक्काको मद्दतमा अविजित ४६ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । कप्तान दिपेन्द्र सिंह ऐरीले ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४२ रन बनाएको इनिङमा चितवनका लागि ओपनिङ ब्याट्सम्यान अनिल मण्डलले ३२ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । भीम सार्कीले ८, योगेन्द्र कार्की र सुनम गौतमले ७/७ रन बनाए । ओपनर दिलिप नाथ १ चौकाको मद्दतमा ६ रन बनाएर पाँचौ बलमा आउट भए भने भारतीय खेलाडी परमेश कुमार ३ र अर्का भारतीय खेलाडी प्रविण गुप्ता २ रन बनाएर पेभिलियन फर्किए । पहिलो इनिङमा पोखराका लागि पाकिस्तानी बलर इसरार उल्लाहले सर्वाधिक ४ विकेट लिए । अर्का पाकिस्तानी बलर ताजवालीले ३ विकेट हात पारे । यस्तै कप्तान शक्ति गौचन र विक्रम सोबले १/१ विकेट लिए ।