व्यवसाय गरी खर्च जुटाउँदै महिला
कञ्चनपुर । बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् । घर खर्चका लागि श्रीमानकै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् ।
उनीहरु व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, लघु उद्यम, साना उद्योग, हस्तकलाका सामग्री निर्माण र व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् । महिला विभिन्न समूहमा आबद्ध भई रकम बचत गरी सोही रकम ऋणका रुपमा परिचालन गरी आम्दानी गर्न थालेका छन् । सिद्धनाथ समूहमा आबद्ध सकुन्तला साउद लघुवित्त कार्यक्रममार्फत गठन भएको समूहले ऋण दिन थालेकाले घरमै बसी बसी आम्दानी गर्न सहज भएको बताउँछिन् । सरस्वती साउदले ऋण निकालेर श्रीमानलाई वैदेशिक रोजगारमा पठाएकी छन् । समूहबाट ७० हजार र आफूसँग रहेको २० रकम खर्चेर श्रीमानलाई विदेश पठाएको उनले बताइन् । उनले वैदेशिक रोजगारबाट कमाएको पैसा किस्ताका रुपमा समूहमा जम्मा गर्दै आएकी छन् ।
बेलडाँडी गाउँपालिका– ४ का आरती केसीले समूहबाट रकम निकाली छोराका लागि कुखुरा फार्म सञ्चालन गरेकी छन् । सोही गाउँपालिका–२ चन्दबस्तीकी जैमती पाण्डेयले बचत गर्दै आएको समूहबाट एक लाख ऋण झिकेर खाजा पसल सञ्चालन गरेकी छन् । घरमै बसी बसी आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ । समूहमा बचत गर्दै आएका महिलामध्ये धेरैले शैक्षिक कर्जा समेत लिएका छन् ।
समूहबाट ऋण लिएर भैंसी खरिद गरेका महिलाले नजिकैको चवन्नी बजारमा दैनिक दूध बेचेर आम्दानी लिँदै आएका छन् । लघु वित्त कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी संस्थाका कार्यकारी प्रमुख मदन भट्टका अनुसार सहकारीले दैजी, बेलडाँडी, बेलौरी र वाणीमा शाखा कार्यालय सञ्चालन गरी लघु वित्त कार्यक्रमअन्तर्गत २०२ केन्द्रमा ८७८ वटा विपन्न समुदाय र आर्थिक रुपमा पछाडि परेका महिलाका समूह गठन गरिएकको छ । गठित समूहमा तीन हजार ५१३ महिला आबद्ध छन् ।
समूहमा आबद्धमध्ये एक हजार ६५२ महिलाले समूहबाट ऋण निकाली आयआर्जका कार्यक्रम सञ्चलन गरेका छन् । १० करोड १४ लाख ६८ हजार रकम लगानी गरिएको भट्टले बताए । व्यवसायको प्रकृतिका आधारमा समूहमा आबद्ध महिलालाई ५० हजारदेखि एक लाखसम्म ऋण उपलब्ध गराइँदै आएको छ । समूहमा आबद्ध महिलाले एक करोड १९ लाख ६३ हजार ३४० रकम बचत गरेका छन् ।