सुन्तलाले गाउँमा समृद्धि भित्र्याउँदै
म्याग्दी । बेनी नगरपालिका–४ बास्कुनाका भीम गुरुङले एक लाखमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे । पोखराबाट आएका व्यवसायीले गुरुङको २० वटा बोटमा फलेको सुन्तलालाई एक लाखमा खरिद गरेका हुन् ।
गुरुङको मात्रै होइन यो बास्कुनाका १५ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो ५० मा बिक्री भएको छ । पोखराबाट सुन्तला खरिद गर्न गएका कुमार कार्की र राज शर्माको टोलीले बास्कुनाका सुन्तला बोटबाटै खरिद गरेको बास्कुना सुन्तला कृषक समूहमा पनि आबद्ध रहेको कृषक गुरुङले बताए । उनका अनुसार, यो वर्ष बास्कुनामा सबैभन्दा थोरै सुन्तला बिक्री गर्नेले एक लाख र बढी बिक्री गर्नेले तीन लाखसम्म आम्दानी गरेका छन् । बास्कुनामा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने कृषक हुन् तिलक गुरुङ । गाउँका अन्य सबै घरका सुन्तला व्यापारीले खरिद गरी लगिसके पनि उनको सुन्तला भनै अझै निर्यात हुने क्रममा छ ।
‘यो वर्ष मेरो बगैंचामा करीब चार लाखको सुन्तला फलेको अनुमान गरेको छु, केही सुन्तला निर्यात भयो, बाँकीलाई समेत केही दिनमै बिक्री गर्ने योजना बनाएको छु’–गुरुङले भने । वैदेशिक रोजगारी त्यागेर २०५९ सालमा गाउँ फर्किएका गुरुङले गाउँमा धान खेती छोडेर व्यावसायिक रुपमा सुन्तला खेती शुरु गरेका थिए । करीब १३ रोपनी खेतमा सुन्तला रोपेका गुरुङको बगँैचामा अहिले ३५० वटा बोटले फल दिन्छन् भने करीब ४०० नयाँ बोट रोपेका छन् ।
बास्कुनामा रहेका १९ घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सामान्य मिहेनतबाट आकर्षक आम्दानी हुने र बजार सजिलै पाइने भएपछि बास्कुनाका स्थानीयवासीले गाउँलाई ‘सुनकुना’ का रुपमा विकास गर्ने लक्ष्यअनुसार सुन्तला विस्तार अभियान चलाएका हुन् । यस गाउँमा अहिले तीन हजार ५०० बोटले फल दिन्छन् भने ६ हजार नयाँ बोट रोपण गरिएको छ । बास्कुनासँगै जोडिएको बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका कृषकलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।
करीब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । गाउँघरमा रोपण भएका ११ हजारभन्दा बढी सुन्तलाका बिरुवामध्ये अहिले आठ हजार जतिले फल दिन थालेको स्थानीय अगुवा कृषक मनकुमारी पुनले बताइन् । निर्वाचित वडा सदस्यसमेत रहेकी पुनले गाउँमा उत्पादन भएको सुन्तला पोखरा र काठमाण्डौँका बजारमा निर्यात हुन थालेको बताइन् । गत वर्ष पुनले सुन्तला बिक्रीबाट दुई लाख आम्दानी गर्दा गाउँमा रु ३० लाखभन्दा बढी नगद भित्रिएको थियो । यो वर्ष गाउँका कृषकको सहजताका लागि पोखरा र काठमाडौँका व्यापारीसँग समन्वय गरेर मनकुमारी पुन र राजु पुनले ३० घरधुरीको सुन्तला खदिरका लागि रु पाँच लाख पेश्की समेत दिइसकेका छन् ।