प्रचार–प्रसार अभावमा ‘बगनास क्षेत्र’ ओझेलमा

सहयात्रा टिभी

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानीको ऐतिहासिक स्थल ‘बगनास क्षेत्र’ ओझेलमा परेको छ । प्रचार–प्रसारको अभाव, स्थानीयको पहलकदमी हुन नसक्नु र आवश्यक पूर्वाधार नबन्दा पाल्पा सदरमुकाम तानसेनबाट नजिकै रहेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय बगनास क्षेत्र ओझेलमा परेको हो ।

समुद्री सतहदेखि एक हजार ४७० मिटर उचाइमा रहेको बगनास डाँडाबाट सूर्योदय अवलोकन गर्न सकिन्छ । सूर्योदयदेखि प्राकृतिक मनोरम दृष्यको सहज अवलोकन गर्न सकिने भएकाले पर्यटकीय गन्तव्य हुने सम्भावना बोकेको यस क्षेत्रमा पूर्वाधारको विकास हुन सकेको छैन ।
मानिसहरु सूर्योदय अवलोकन गर्न विशेष चाहना राख्नेहरु सूर्योदय हुनुअघि नै त्यहाँ पुग्ने गर्दछन् । गर्मीको समयमा शितल हुने भएकाले मानिसहरु गर्मी छल्न त्यहाँ पुग्ने र प्रकृतिसँग सामिप्यको लाभ लिन केन्द्रित हुन्छन् ।

सुन्दर हिमशृंखला, माडीफाँट, तानसेन बजार र तराईका फाँट अवलोकन गर्न सकिने भएकाले बगनासलाई पर्यटकीय क्षेत्रमा रुपमा विकास गर्नुपर्ने स्थानीय बासिन्दा टेकबहादुर रानाले बताए । चेचिकोटी (बगनास देवी) मन्दिरको आफ्नै महत्व रहेकाले पनि बहुसाँस्कृतिक र बहुजातीय महत्वको गन्तव्य रहेको मानिन्छ ।

घुमफिर, पिकनिक र मन्दिर दर्शनका लागि पर्यटक तथा दर्शनार्थी यहाँ आउने गर्दछन् । मन्दिरको महिमाबारे प्रचार–प्रसार गर्न सकेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय बासिन्दा विष्णुप्रसाद विकले बताए । बडादशैंको नवदुर्गामा विशेष मेला लाग्ने यस स्थलमा ऐतिहासिक कोटघर पनि रहेकाले यसक्षेत्रको महत्व धेरै पहिलेदेखि नै रहेको अनुमान स्थानीय बासिन्दाको रहेको छ ।

प्रकाशित : 22 December, 2017

प्रतिक्रिया दिनुहोस्