बेनीबजार जोगाउन ११ करोड
म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको कटानबाट सदरमुकाम बेनीबजारलाई जोगाउन ११ करोडको लागतमा बेनीबजार संरक्षण आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीबजार नदी कटानको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो । आयोजनाअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बाग्लुङले चालु आव २०७४–७५ मा दुई वटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी र रिटेनिङ (मेशिनरी) पर्खाल निर्माणको कार्य शुरु गरेको थियो ।
बेनीको मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनारा, म्याग्दी र कालीगण्डकीको दोभान तथा कालिपुलस्थित कालीगण्डकी नदीको दायाँ किनारामा रिटेनिङ र आरसिसी पर्खाल सम्झौता अगाडि नै सम्पन्न गर्ने समानान्तर बिएन जेभीका नारायण जिसीले बताए । ‘तीव्र गतिमा काम भइरहेको छ । नदीको धार समेत परिवर्तन गरिएकाले पनि सहज भएको छ’–जिसीले भने । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष् ासमेत रहेका जिसीले ३९७ मिटर रिटेनिङ र आरसिसी पर्खालमा दैनिक २ सय कामदार परिचालन गरिएको जानकारी दिए । जिसीका अनुसार मेशिनरी पर्खाल छ मिटर र आरसिसी ७.५ मिटर अग्लो हुनेछ ।
नदी आसपासमा पानीको बहावले निर्माणकार्यमा असर गरेपछि नदी आसपासमा बसोबास गर्नेहरूसँग समेत छलफल गरी नदीको धारलाई परिवर्तन गरेकाले पनि आयोजनाको कामले गति लिएको छ । ठेक्का सम्झौता एक वर्षको भए पनि असारभित्र नै काम सम्पन्न गर्ने ठेकेदारको दाबी छ । जलउत्पन्न प्रकोप नियन्त्रण सवडिभिजन कार्यालयका इन्जिनियरसहितको प्राविधिक टोलीले दैनिक स्थलगत अनुगमन गर्ने गरेको जनाएको छ ।
दुई वटा ठूलो नदीको कटानले बेनीबजार जोखिममा पर्न थालेपछि बजार संरक्षण उपभोक्ता समिति निर्माण गरी एक दशकयता सरकारी बजेट र चन्दा संकलन गरी ग्याबियनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो । कटान रोक्न ग्याबियन जाली तथा ढुङ्गाको प्रयोग प्रभावकारी नभएपछि आव २०७१–०७२ देखि २०७३–०७४ सम्म आरसिसी पर्खालको योजना परेको थियो । तर पाँच महिना अघिदेखि भने निर्माण कार्यले तीव्रता पाएको हो ।