बोटे समुदायको डुंगा चलाउने पेशा संकटमा
पाल्पा । कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका बोटे समुदायको पेशा संकटमा परेको छ । कालीगण्डकीको डुंगा सञ्चालन हुने विभिन्न घाटमा अहिले धमाधम पुल निर्माण हुन थालेपछि उनीहरुको पेशा संकटमा परेको हो ।
बिहान उज्यालो भएदेखि राति अबेरसम्म कालीनदीका विभिन्न घाटमा आजभन्दा दुई दशक अघिदेखि सञ्चालनमा आएको डुंगा अहिले भने पूर्णरुपमा विस्थापित हुन पुगेको छ । बोटे समुदायको पहिचानका रुपमा रहेको डुंगा चलाउने पेशा विभिन्न घाटमा पुल बन्न थालेपछि पेशा नै विस्थापित भएको हो । कालीगण्डकीको आँधिघाट, खोरियाघाट, केलादीघाट, पुट्टारघाट, घुमारीघाट, भुजातघाट, असेर्दीघाट, बालीघाटलगायतका विभिन्न दर्जनौँ घाटमा डुंगा सञ्चालनमा थियो । तर अहिले यी घाटमा झोलुङ्गे तथा पक्की पुल बनेपछि बोटे समुदायको डुंगा चलाउने पेशा नै खोसिएको छ । रामपुर नगरपालिका–३ बोटेगाउँ बस्ने ८० वर्षीय नरबहादुर बोटेले कालीगण्डकीको
केलादीघाटमा ३५ वर्षसम्म डुंगा चलाए । अहिले सोहीघाटमा झोलुङ्गे तथा पक्की पुल बनेपछि पेशा नै खोसिएकोमा चिन्ता व्यक्त गर्छन् ।
उमेरले डाँडापारिको घाम बन्दै गएका बोटे बाउबाजेले परम्परादेखि नै गर्दै आइरहेको डुंगा चलाउने पेशा खोसिदा बोटे समुदायको चिनारी नै हराउँदै गएकोमा उनी चिन्तित बनेका छन् । त्यस्तै अर्का ७२ वर्षीय विष्णुबहादुर बोटेले पनि लामो समयसम्म सोही घाटमा डुंगा चलाए । वर्षायामको भेल पनि नभनी जोखिम मोलेर यात्रुलाई सुरक्षित तवरले नदी वारिपारी डुंगा तार्ने काममा उनी निकै सिपालु थिए । ‘केलादी घाटमा दिनमा दुई वटा डुंगा नियमित चल्थ्यो एकछिन पनि फूर्सद हुन्नथ्यो, जनताको सेवा गर्न पाउँदा निकै रमाइलो लाग्थ्यो’–उनले भने । दैनिक ३ सयसम्म यात्रुलाई नदी वारपार गराउँदै आएको बोटेको भनाइ छ ।
६२ वर्षीय बुद्धबहादुर बोटे डुंगा चलाउने पेशा खोसिएपछि अहिले कृषि कार्यमा लागेका छन् । ‘आफूले गर्दै आइरहेको पेशा खोसियो, बच्चाबच्ची हुर्काउन पढाउन प¥यो, अहिले कृषि कार्य गरेर जीविका चलाउँदै आएको छु’–उनले भने । उनले १५ वर्ष जति कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाए । आफ्नो गरी खाने पेशा खोसिएपछि खिमबहादुर बोटे १५ वर्ष जति विदेशमा रोजगारीका निम्ति बसे । ‘आफूसँग भएको सीप डुंगा चलाउनु बाहेक अरु केही थिएन, पेशा बन्द भयो लामो समयसम्म आम्दानीका लागि मरुभूमिमा बसेंं–उनले भने ।
डुंगा चलाउन सिपालु युवापुस्तका अर्का कृष्णबहादुर बोटे पनि अहिले घरायसी कामकाज कृषि कार्यमा तल्लीन छन् । यहाँ अहिले बोटे समुदायभित्र झण्डै ३६ घरपरिवार रहेका छन् । कालीगण्डकीका विभिन्न घाटमा छरिएर डुंगा चलाएर राम्रैसँग गुजारा चलाउने गर्थे । धमाधम विभिन्न घाटमा पुल निर्माण कार्यले समुदायको राम्रो पहिचान बनेको पुर्खौली पेशा नै लोप हुन थालेपछि समुदायका पाकापुस्ताले चिन्ता व्यक्त गरिरहेका छन् ।