स्त्री रोगमा हिस्टरोस्कोपीको प्रयोग
अध्ययन–अनुसन्धानअनुसार महिलामा बाँझोपनको कारण पत्ता लगाउन विभिन्न जाँचहरूमा हिस्टरोस्कोपी महत्त्वपूर्ण मानिएको छ । यसले गर्दा कुनै ठूलो प्रविधिको माध्यमबाट प्रयास गर्नुअघि यो प्रविधिको प्रयोग प्रभावकारी हुने गरेको छ । योबाहेक हिस्टरोस्कोपीको प्रयोग धेरै रगत बगेको अवस्थामा बायप्सी (मासुको जाँच)मा पनि प्रयोग हुन्छ । पाठेघरभित्र कुनै मासु पलाएमा (इण्ड्रोमेट्रियल पोलिप) कपर टी, पाठेघरभित्र हराएको अवस्थामा र कुनै फोरेनबडी (अनावश्यक चीज) भएको बेलामा हिस्टरोस्कोपीको माध्यमबाट पत्ता लगाई झिक्न सकिन्छ ।
सेकेण्डरी एमिनोरिया भनेको जुन महिलामा नियमित रूपमा महीनावारी भइरहेको थियो र महीनावारी सुक्ने उमेर पुगेको छैन, त्यस्तो अवस्थामा ६ महीनाभन्दा बढी महीनावारी रोकिएको अवस्था हो । कुनै हर्मोनको उपचारले महीनावारी गराउन नसकेको अवस्थामा पनि हिस्टरोस्कोपी प्रविधिको माध्यमले पाठेघरभित्रको अवस्था पत्ता लगाउनुका साथै बायप्सी गर्न सकिन्छ । हिस्टरोस्कोपीको माध्यमबाट हामीले अल्का अस्पतालमा महिलाको विभिन्न समस्याको निदान तथा उपचार गर्दै आएका छौं ।
डा. रंगीना लाइकङ्गबम शाह
कन्सल्टेण्ट, स्त्री तथा
प्रसूति रोग विशेषज्ञ (ल्याप्रोस्कोपिक गाइनोकोलोजिष्ट)
अल्का अस्पताल, जावलाखेल