स्वदेशमै सुरुभो खाना पकाउने ग्यासको उत्पादन, दैनिक २ टन ग्यास

सहयात्रा टिभी

भैरहवा । स्वदेशी कच्चा पदार्थमा निर्भर हुने गरी मुलुकमै पहिलोपटक व्यावसायिक रूपमा खाना पकाउने ग्यासको उत्पादन सुरु भएको छ । कुहेर जाने फोहोर सामग्रीको समेत प्रयोग हुने गरी भैरहवा नजिकै नवलपरासीको सुक्रौलीमा इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजरले बायोग्यासको उत्पादन सुरु गरेको हो । उक्त उद्योगले स्वदेशमै कच्चा पदार्थको उत्पादन तथा संकलन गरी दैनिक २ टन ग्यास उत्पादन गर्छ ।

उद्योगका प्रबन्ध निर्देशक सन्दीपकुमार अग्रवालले भने, ‘स्वदेशी कच्चा पदार्थमा आधारित व्यावसायिक रूपमा बायोग्यास उत्पादन गर्ने यो उद्योग मुलुकको पहिलो हो ।’ स्थानीय क्षेत्रमै पाइने जनावरको गोबर, कुखुराको सुली, घाँस, भान्साबाट निस्किने कुहिने वस्तु र वनस्पतिको प्रयोग गरी ग्यास उत्पादन थालिएको हो । उत्पादनलाई दीर्घकालीन र कच्चा पदार्थमा आत्मनिर्भर बनाउन उद्योग परिसर नजिकै १५ बिघा जमिन भाडामा लिई आधुनिक तरिकाबाट गरिएको मकै खेती उद्योगको मुख्य कच्चा पदार्थको स्रोत हो ।

विभिन्न सहरमा फोहोरको व्यवस्थापन गर्न ठूलो चुनौती बनेको र फोहोरले विभिन्न समस्या निम्त्याइरहेको अहिलेको अवस्थामा यस उद्योगको सञ्चालनले फोहोर व्यवस्थापनमा सहज हुने उद्योगका निर्देशक अभिरथ अग्रवालले बताए । उनका अनुसार आसपासका नगरपालिकाहरूसँग समन्वय गरी ल्यान्डसाइडको कुहिने फोहोर संकलन गर्ने योजना छ । दैनिक ३० देखि ४० टन कच्चा पदार्थ आवश्यक पर्ने यस उद्योगले दैनिक २५ टन प्रांगारिक मलसमेत उत्पादन गर्ने गरेको छ ।

करिब २२ करोड रुपैयाँको लगातमा जर्मन प्रविधिबाट यो उद्योग सञ्चालित छ । आजको कान्तिपूर दैनिकमा खबर छ । 

प्रकाशित : 5 January, 2018

प्रतिक्रिया दिनुहोस्