शीतलहरबाट प्रभावित २२ जिल्लामा २ करोड राहत

सहयात्रा टिभी

काठमाडौ । अत्यधिक चिसो र शितलहरबाट प्रभावित २२ जिल्लाका लागि गृह मन्त्रालयले दुई करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रभावित प्रत्येक जिल्लामा १०–१० लाखका दरले दाउरा र कम्बल किनेर वितरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिलाई रकम विनियोजन गरिएको हो । शीतलहरबाट सबैभन्दा धेरै बाढीपीडित, अस्थायी आवासमा बसेका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।
झापा, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, सिराह, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका शीतलहर प्रभावित सर्वसाधारणलाई राहत वितरण गरिने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । शीतलहर प्रभावित सर्वसाधारणका लागि आवश्यक दाउरा टिम्बर कर्पोरेसन अफ नेपाल र जिल्ला वन कार्यालयले उपलब्ध गराई वितरण गरिने भएको छ ।
सातासम्म चिसो नघटे पनि बढ्ने सम्भावना भने एकदमै कम रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : 9 January, 2018

प्रतिक्रिया दिनुहोस्