शीतलहरबाट प्रभावित पीडितको जीवन रक्षा गर्न राष्ट्रपतिको आग्रह
काठमाडौ।पुस २५ – राष्ट्रपति विद्या भण्डारीले चिसो र शीतलहरबाट प्रभावित क्षेत्रमा मानवीय क्षति कम गर्न सम्बन्धित सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै सरकार, गैरसरकारी संस्था तथा आमनागरिकलाई शीतलहर र चिसोबाट प्रभावितहरूको जीवन रक्षाका लागि आग्रह गर्नुभएको हो ।
“विगत केही दिनदेखि देशमा चिसो बढिरहेको छ । मुख्यतः तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र शीतलहरका कारण केहीको ज्यान गएको छ भने पश्चिम पहाडका केही क्षेत्रमा झाडापखाला र ज्वरोका कारण केहीको मृत्यु भएको छ । तराई क्षेत्रलगायत देशभर वढेको चिसोले आमजनताको दैनिक जीवनयापनमा कठिनाइ परेको छ”, राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विगत वर्षहरूमा झैँ यस वर्ष पनि पुनरावृत्ति भएकाले तिनीहरूको उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी गर्न आवश्यक देखिएको छ । ”
‘सिङ्गो देशलाई दुःखित र स्तब्ध तुल्याएको’ भन्दै उहाँले परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि नेपाल सरकार र गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवं राहतको उचित प्रबन्ध मिलाउन आह्वान गर्नुभएको हो ।