आयल निगमको जग्गा खरिद प्रकरणको बयानका लागि अख्तियारले बोलायो तत्कालीन आपूर्ति सचिव प्रेमकुमार राई लाई
काठमाण्डौँ । माघ- १०, नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको अनुसन्धानको क्रममा आयोगले तत्कालीन आपूर्ति सचिव प्रेमकुमार राईसँग पनि बयान लिने भएको छ। उक्त भ्रष्टाचार काण्डमा उनको पनि भुमिका देखिएकाले बयानका लागि बोलाइएको अख्तियार स्रोतले बतायो। राई हाल प्रधानमन्त्री कार्यालयमा सचिवका रुपमा छन्। आयोगले मंगलबारदेखि पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँग बयान लिइरहेको छ भने जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधि लगायत निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ ।
निगमले झापा, सर्लाही, चितवन र भैरहवामा पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा कायम मुल्यभन्दा बढिमा जग्गा किनेको, खोलाको बगरमा चर्कोमुल्यमा जमीन किनेको जस्ता आरोपहरु खेपिरहेको छ । जग्गा विवाद आएपछि प्रेमकुमार राई आपूर्ति मन्त्रालयबाट सारिएर प्रधानमन्त्री कार्यालयमा जगेडा सचिवको रुपमा कार्यरत छन्।