केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिश्वकप छनोटका लागि टिम घोषणा भएसँगै नेपाली क्रिकेटले हिड्नुपर्ने बाटोहरु (सम्पादकीय)

सहयात्रा टिभी

सहयात्रा सम्पादकीयः जिम्बावेमा आगामी फागुन २० गते देखी शुरु हुन गइरहेको विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएसँगै नेपाली क्रिकेटको भावी प्रदर्शन कस्तो रहला भन्ने सबैको चासोको विषय बन्न पुगेको छ । आइतबार आइसीसीले बिज्ञप्तीमार्फत पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ, जसमा नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेका १४ खेलाडी र थप खेलाडी समावेश छन् । थप खेलाडीहरुमा युवा स्पिनर ललित नारायण राजवंशी र बैकल्पिक खेलाडीका रुपमा बिनोद भण्डारी रहेका छन् । डिभिजन २ मा उपविजेताको रुपमा रहेको नेपाल विश्वकप छनोटको समुह ‘बी’ मा रहेको छ । यो प्रतियोगितालाई नेपाली क्रिकेटलाई अगाडी बढाउन आवश्यक कोशेढुङ्गाको रुपमा लिन सकिन्छ, किनभने यो खेलबाट नेपालले आफ्नो क्षमताअनुसार एकदिवसीय मान्यता मात्र नभइ बिश्वकपसम्मको यात्र तय गर्न सक्ने छ ।

प्रतियोगितामा नेपालसँगै समुह ‘बी’ मा आयोजक जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ रहेका छन् । नेपालले फागुन २० गते– जिम्बावे विरुद्ध, फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध, फागुन २६ गते– अफगानिस्तान विरुद्ध र फागुन २८ गते– हङकङ विरुद्ध खेल्ने छ । दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । सुपर–६ मा लिग खेल हुनेछन् । शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

 

यो खेल नेपालका लागि राम्रो अवसर हुन सक्छ, किनभने विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ । अरु बाकी रहेका एसोसिएट टिमहरु पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन् ।

नेपालले बिश्वकप छनोट प्रतियोगिताबाट यो उपलब्धी हाँसिल गर्नका लागि कम्तीमा आठौँ स्थानका लागि सुरक्षित रहनुपर्ने हुन्छ । बिश्वकपमा स्थान बनाउनका लागि नेपालको ठुलो चुनौती ब्याटिङ् नै रहेको छ । नेपाली टिममा कायम रहेको ब्याटिङ् समस्या र बिशेषगरी ओपनिङको समस्यालाई तत्काल समाधान गर्नु आवश्यक छ । डिभिजन २ का अधिकांश खेलहरुमा साना लक्ष्य पछ्याएको नेपालले ती लक्ष्यहरुले अन्तिम बलसम्म र धेरै विकेट पतन भइसकेको अवस्थामा पुरा गरेको थियो । अब नेपाली टिमका प्रतिद्वन्दी यसअघि दुईपटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट मान्यता प्राप्त र एसोसिएटमै उच्चस्तरको प्रतियोगिता खेलिसकेको टोलीहरु रहेका छन् । जसले नेपाली टोलीलाई अवसरसहित चुनौति पनि थपिदिएको छ ।

नामिवियामा भएको डिभिजन २ को प्रतियोगिताले नेपाली युवा ब्याट्म्यानहरुको सम्भाव्यता देखाएको छ । अनुभवि तथा भरपर्दा ब्याट्सम्यानहरु खुरुखुरु पेभेलियन फर्किरहँदा नेपाली युवा ब्याट्म्यान रोहित पौडेल, आरिफ शेख आदीको प्रदर्शन उच्च र उत्तरदायी देखिन्छ र यसलाई निरन्तरता दिनु आवश्यक छ भने नेपाली अनुभबी तथा भरपर्दा ब्याट्सम्यानहरुले टिकेर अपेक्षा अनुकुल प्रदर्शन गर्नु आवश्यक छ । नेपाली क्रिकेट बिश्वकपको बाटोमा अगाडी बढिरहँदा नेपाली क्रिकेटको आधिकारिक संस्था क्यान हाल निलम्बित अवस्थामा रहेको छ भने नेपाली क्रिकेट सम्वन्धी सम्पुर्ण क्रियाकलाबहरु आइसीसी आँफैले हेरीहेको छ । यद्यपि, आईसीसीको व्यवस्थापनमा खेल्नु नेपाललाई त्यती सहज छैन ।

क्यानको यो अवस्थाले गर्दा यसको प्रत्यक्ष मार नेपाली क्रिकेटलाई पर्न गएको छ । नेपालमा क्रिकेटको लागि अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानसमेतको अभाव रहेको अवस्थामा नेपाली क्रिकेटमा आफ्नो स्तर अनुकुल परामर्शदाताको पनि आवश्यकता रहेको छ । प्रशिक्षक पुबुदु दासानायके रहँदा नेपाली क्रिकेट निकै सुधारोन्मुख देखिएको थियो । त्यसपछि प्रशिक्षकहरुमै अनिश्चितता देखिन थालेपछि नेपाली क्रिकेटमा पनि त्यसको त्यसको असर देखिएको थियो ।

डिभिजन २ का लागि नेपाली ब्याटिङ् कन्सलटेन्टका रुपमा सुलक्षण कुलकर्नी आएका थिए भने अब हुने विश्वकप क्वलिफायर्सका तयारीका लागि उमेश पटवाल नेपाल आउदै छन् । हरेक निर्णयमा आइसीसीको मुख ताक्नुपर्ने अवस्था रहेकाले पनि नेपाली क्रिकेटमा यसको असर परिरहेको छ । यसका लागि क्यानको विवाद समाधान गरी नेपाली क्रिकेटलाई अगाडि बढाउनुको बिकल्प देखिन्न ।

आइसीसीले आइतबार बिज्ञप्तिमार्फत निकालेको खेलाडीहरु रस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो रहेका छन् । नेपाली टोली शनिबार जिम्बाबे जाँदै छ ।

नेपाललाई बिश्वमा चिनाउन क्रिकेट अगाडी सरिरहेको अवस्थामा क्यानको बिबाद मिलाएर खेललाई अझ सुदृढ बनाएर अगाडी लैजानु आवश्यक छ । देशले बिश्वकपमा प्रतिनिधित्व गर्ने अवस्था आइसक्दा देशभित्र खेलकुदमै राजनीति गरेर खेलकुदलाई तहसनहस पार्न खोज्नु लज्जास्पद विषय हो । सरकारले छिटै क्रिकेटको भौतिक संरचना, घरेलु लिगहरुमा सुधार गर्दै अगाडी बढ्नु आवश्यक छ । यसमा सबै सरोकारवाला निकायले गम्भीर हुने बेला आएको छ । ।

प्रकाशित : 20 February, 2018

प्रतिक्रिया दिनुहोस्