जथाभावी लोला हान्ने तथा रंग दल्नेलाई २५ हजार जरिवाना

काठमाडौं । आज फागुपुर्णिमा अर्थात होली पर्व, देश विदेशमा रहेका हिन्दुहरुले आफन्त र साथीभाइविच रङ संग रमाउदै होली पर्व मनाईदैछ । यसविचमा होलीलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रहरीले जनाएको छ । होलीमा आपराधिक गतिविधि हुन नदिनका लागि आज १५ सय थप प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ उपरीक्षक विश्वराज पोख्रेलले जानकारी दिए ।
आज काठमाडौंमा १ सय ६ वटा प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो । यसरी कहिं कतै पनि आपराधिक क्रियाकलाप भएमा तत्कालै कारवाहीका लागि २० वटा टोली तयार अवस्थामा रहेको पनि प्रहरीको भनाई छ । जथाभावि लोला हान्ने तथा रंग दल्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ । यस्तै, प्रहरीले ट्राफिक नियमविपरित गाडी चलाउनेलाई तत्काल कारवाही गर्ने तयारी पनि गरेको छ । जाँडरक्सी खाएर सवारीसाधन चलाएको, अनुहार नचिनिने गरी रंग लगाएको, हेलमेट नलगाई मोटरसाइकल चलाउनेलगायत ट्राफिक नियम उल्लंघन गरेको पाइए कारवाही गर्ने महानगरिय ट्राफिक प्रहरीले जनाएको छ ।