फ्री ! फ्री !! फ्री !!!

सहयात्रा टिभी
प्रशन्न घिमिरे (नेताजी)
आजको समयमा अमृतवाणीका रूपमा स्थापित शब्द हो “फ्री” अर्थात “सित्तैमा”। वर्तमान युगमा त “फ्री” कुनै एकशब्दे दर्शनभन्दा कम छैन । सत्ययुगमा सत्य , त्रेतामा राम , द्वापरमा कृष्ण भनेझैँ कलियुगका आदर्श हुन “फ्री” जि ।
फ्री महात्मयको सुरुवात भएको धेरै छैन । एकदिनको कुरा हो एउटा मनुवाले ब्रह्माजीको तपस्या गरेछ । प्रसन्न भएर ब्रह्माजी प्रकट हुनुभएछ र वरदान माग्न आज्ञा गर्नुभएछ । मनुवाले बिन्ती बिसाएछ,” हे प्रभु! मलाइ मन र धन दुवैको आवश्यकता छ ।पैसा कमाएर म एउटी राम्री केटी बिहे गर्न चाहन्छु । मलाइ यो गरिबपना र सिङ्गलपनाबाट मुक्त हुने निदान बताइदिनुहोस न।”
ब्रह्माजीले आज्ञा गर्नुभएछ “हे बालक! तिमी आजैबाट “फ्री” देवको नाम आफ्नो जीवनमा प्रयोग गर्न थाल । तिमीलाइ लक्ष्मी र नारी दुबै प्रदान हुनेछन् ।” नभन्दै त्यो मनुवाले भोलिपल्टै पानीपुरीको पसल खोलेछ अनि भनेछ “२० रुपैयाँको पानीपुरी किन्दा ३ वटा फ्री ।” त्यसपछी त उसको वरिपरि जहिल्यै नारीहरूको भीड लाग्न थाल्यो ।छोटो समयमा नै मनग्गे पैसा कमाएर उसले विवाह गर्यो । यहीँबाट फ्री महात्म्यको सुरुवात भएको इतिहासमा कता कता सुन्न पाइन्छ । ।
अस्ति नै मैले होटेलमा गएर चिया मगाएँ । साहुनीकी धप्-धप् बलेकी छोरीले तात्तातो चिया लिएर आइन्। मैले चियाको एक चुस्की के लिएको थिएँ र? कि म त बुरुक्कै उफ्रेर चिच्याएँ , “झिँगा ! झिँगा!! चियामा त झिँगा छ ।” परैबाट साहुनी कड्किन् “ “२० रुपैँयाको चियामा झिँगा नपरेर के लाखको चिट्ठा पर्छ त र?” झिँगा तपाइँलाई फ्री हो ।” म स्तब्ध भएँ । चियाको पैसा तिरेर म चुपचाप हिँडे ।अर्थशास्त्रमा जति नै सिद्धान्तको प्रतिपादन भएता पनि फ्री वादको सिद्धान्त जस्तो प्रभावकारी सिद्धान्त अर्को कुनै छैन ।
जे मा पनि अहिले त केही न केही फ्री पाइन्छ। दाउरा किन्दा छेस्का फ्री , रसबरी किन्दा रस फ्री , जुत्ता किन्दा तुना फ्री , गाडी किन्दा चक्का फ्री , डटपेन किन्दा सुइरो फ्री , पाइन्ट किन्दा गोजी फ्री , दूध किन्दा पानी फ्री , चामल किन्दा ढुङ्गा फ्री , मसला किन्दा काठको धुलो फ्री , साग किन्दा माटो फ्री , बाँस किन्दा भाटो फ्री । मिनरल वाटर पनि आजकल त “ब्याक्टेरिया फ्री” आउन थालिसकेको छ । हिजो एउटा दाइ हस्याङ-फस्याङ गर्दै दोकानमा आएर भन्दै थिए, “बोतलमा ब्याक्टेरिया फ्री लेखेको छ त । खै त मलाई ब्याक्टेरिया दिएको ?”

झिँगापुरमा बसेर सिँगापुरको सपना देख्ने हामी त झन फ्री वादका चरम उपासकहरु हौँ । फ्री मा केही पाइयो भने त हाम्रो मन-मस्तिष्क कुनै एक्साइटेड इलेक्ट्रोनभन्दा कम हुँदैन । अझ हामी काठमाडौवासीको कुरा गर्ने हो भने त झन १ प्लेट मम: किन्दा एउटा फ्री पिस परोस् त स अरे! बाबा ठाकरे , चन्द्रमामा पाइला टेक्दा नील आर्मस्ट्राङ पनि त्यति खुसी भएका थिएनन होला जति त्यो १ पिस ममस् पाउँदा हामी खुसी बन्दछौँ । न्यूटनको टाउकोमा रूखबाट एउटा स्याउ फ्रीमा के झरेको थियो र? उनले त गुरुत्वाकर्षण सिद्धान्तकै प्रतिपादन गरिदिए। संसारमा नवीन क्रान्तिको थालनी गर्ने तत्व हो फ्री । समय अलिकती ‘फ्री’ होस न , डोजर काण्ड, ट्रीपर काण्ड , टोइलेट काण्ड आदि काण्डैकाण्डको स्थापना हुनपुग्दछ ।यही नै ‘फ्री’ वादको विशेषता हो । उदाहरणको लागि मेरै यो लेख हेर्नुहोस न । यो पढेर तपाइँले टाइमपास फ्री पाउनुभयो, हाँसो फ्री पाउनुभयो ।कतिपयले त मेरा लागि “हावा,बकवास, आलु, मेन्टल लेखक “ आदि उपनामहरू आफ्नो मस्तिष्कमा फ्री पाउनुभयो । त्यसैले आऔँ हामी सबै मिलेर फ्री देवको गुणगान गाऔँ । आजैबाट मन्त्र जपौँ ,

“हरि ॐ तत्सत् , फ्री देवं नमस्तुभ्यं , लक्ष्मी प्रदानम , दारी प्रदानम् , नारी प्रदानम् , फ्रीमा एउटा सारी प्रदानम् , खेतमा जहिल्यै आली प्रदानम् , बिहेमा तीनवटा साली प्रदानम् , लुगा धुने राम्रो ब्रस प्रदानम् , जमल जाने काम छ भन्दै रत्नपार्कबाटै माइक्रो नचढ्ने क्रश प्रदानम् । हरि ॐ !”

प्रकाशित : 9 March, 2018

प्रतिक्रिया दिनुहोस्