किमसँगको वार्ताका जोखिमबारे ट्रम्प जानकार

सहयात्रा टिभी

बीबीसी

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै त्यसमा रहेका जोखिमलाई ट्रम्पले बुझेको बताएका छन्।

फक्स समाचार संस्थासँग आइतबार कुरा गर्दै ‘नाटकका लागि नभई’ समस्या समाधान गर्न ट्रम्पले वार्ता गर्न लागेको उनले बताए।

राष्ट्रपति ट्रम्पले शिखर बैठकले ‘विश्वका लागि महान सम्झौता’ दिलाउन सक्ने बताएका छन्।

तर आलोचकहरूले चाँहि वार्ता ठिक ढंगले अघि नबढे दुई देशहरू पहिले भन्दा झन खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

चनाखो

अहिलेसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका छैनन्।

दक्षिण कोरियाली दूतहरुले उत्तर कोरियाली नेता वार्ताका लागि इच्छुक रहेको खबर बिहीवार ल्याएपछि आफ्नै प्रशासनका उच्च अधिकारीलाई समेत आश्चर्यमा पार्दै ट्रम्पले वार्तामा बस्न आफू तयार रहेको बताएका थिए।

उत्तर कोरियालाई परमाणू अस्त्रबाट मुक्त गर्ने हिसाबमा सन् २००३ यता भएका वार्ता विफल भएका थिए।

सिआइएका निर्देशक पोम्पेओले ट्रम्प प्रशासनले उत्तर कोरियासँगका वार्ताका चुनौतीबारे चनाखोपूर्वक हेरिरहेको बताए।

उनले उत्तर कोरियाली अर्थतन्त्र अहिलेजति जोखिममा कहिल्यै नरहेको र उत्तर कोरियाली नेतृत्वले यसपटकको जति दबाब विगतमा नखेपेको बताएका छन्।

अमेरिकी नेतृत्वमा लगाइएका प्रतिबन्धले उत्तर कोरियालाई वार्ताका टेबलमा बस्न दबाब दिएको उनको भनाई छ।

प्रयास

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच शिखर बैठक गराउने कूटनीतिक प्रयासको केन्द्रमा रहेका दक्षिण कोरियाली दूतहरु हालसम्मका प्रगतिबारे जानकारी गराउन चीन र जापानतर्फ गइरहेका छन्।

सोलका दुई उच्च पदस्थ सुरक्षा अधिकारीहरूले अघिल्लो हप्ता किमको सन्देश राष्ट्रपति ट्रम्पलाई दिएका थिए।

त्यसलगत्तै बैठकका लागि तयार भएको अप्रत्यासित घोषणा ट्रम्पले गरेका थिए।

उक्त घोषणापछि मात्रै अमेरिकी राष्ट्रपतिले चीन अनि आफ्नो साझेदार जापानलाई त्यस विषयमा जानकारी दिएका थिए।

वार्ताको समय र स्थानबारे सहमति हुन बाँकि छ।

विवरणहरूका अनुसार चीन त्यस्तो शिखर बैठक आयोजना गर्नका लागि तत्पर छ।

तर स्विट्जरलण्ड, स्विडेन वा दुई कोरिया छुट्याउने सैन्य बलको उपस्थित नभएको पाममुनजोम सहितका स्थानका बारेमा पनि कुराहरू भएका छन्।

प्रकाशित : 13 March, 2018

प्रतिक्रिया दिनुहोस्