पल्सर स्पोर्टस अवार्डका लागी डिस होम र खेलकुद मञ्चविच सम्झौता
काठमाण्डौं । बैशाख–२८, विगत ८ वर्षदेखि सहकार्य गर्दै आएका डिस मिडिया नेटवर्क लिमिटेड र नेपाल खेलकुद पत्रकार मञ्चले फेरी यसपटकको अवार्डका लागि पनि सम्झौता गरेका छन् । खेलकुद मञ्चले बिहिबार पत्रकार सम्मेलन गरि डिस मिडिया नेटवर्क लिमिटेडसँग ७ लाखमा सम्झौता गरेको जानकारी दिएको हो ।
डिस मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा अवार्डको नाम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस्’ राखिएको छ । उक्त अवार्डको लागी डिस मिडिया नेटवर्क लिमिटेडले ४ लाख ७० हजार नगद र २ लाख ३० हजार मुल्य बराबरको सामान प्रदान गर्ने छ ।
साथै मनोनयनमा पर्ने २८ खेलाडी र एसएमएस भोटिङमार्फत ५ जना भाग्यशाली विजेतालाई डिस होमको सेटप बक्स प्रदान गरिने छ । उत्कृष्ट महिला र पुरुष खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विभिन्न विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरु पनि प्रदान गरिने छ ।