अन्तराष्ट्रिय लाङटाङ म्याराथनको तयारी पुरा

सहयात्रा टिभी

रसुवा । जेष्ठ–४, रसुवामा भोलि हुन लागेको तेस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथनको सम्पूर्ण तयारी पुरा भएको छ ।

पदयात्राको तेस्रो गन्तव्य क्षेत्र मानिने लाङटाङ क्षेत्रमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले तेस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथनको आयोजना गर्न लागेको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति गरेको लाङटाङ क्षेत्र अहिले पदमार्गको मर्मत तथा सुधार, होटल तथा घरहरुको पुननिर्माण भएसंगै पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन म्याराथनको आयोजना गरिएको टानका अध्यक्ष नवराज दाहालले बताए ।

टानले पहिलो संस्करणमा गोसाइकुण्डदेखि सदरमुकाम धुन्चेसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथनको आयोजना गरेको थियो । गतवर्ष पनि टानले लाङटाङको क्यानजिङदेखि स्याफ्रुवेसीसम्म दोस्रो म्याराथुनको आयोजना गरेको थियो ।

यस वर्ष पनि लाङटाङको क्यानजिङ, लाङटाङगांउ, थाङस्याप, घोडातबेला, लामाहोटल, रिम्चे, शेर्पागांउ, खाम्जिङ, बृद्धिम, लिङलिङ हुंदै स्याफ्रुवेसीसम्म झण्डै ४२ किलोमिटर म्याराथनको आयोजना गर्न लागेको टानका कार्यसमिति सदस्य कार्यक्रम तथा खेलकुद विभाग संयोजक ऋतु ग्याम्दानले बताए ।

म्याराथनमा महिला र पुरुष दुवैतर्फका प्रथम हुने विजेताले १ लाख ५ हजार, दोस्रो हुनेले ७८ हजार ७ सय ५० र तेस्रो हुनेले ५२ हजार ५ सय नगद पुरस्कार र प्रमाण पत्र पाउने छन् । अहिलेसम्म ६० जना धावकले नाम दर्ता गराएको र झण्डै एकसय जना सहभागी हुने टानले जनाएको छ ।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्