अवैध रुपमा सञ्चालित धार्मिक संस्थाबाट नौ बालबालिका उद्धार

सहयात्रा टिभी

पोखरा । जेठ–६, पोखरा लेकसाइडको डिहिकोपाटनमा अवैध रुपमा सञ्चालन गर्दै आएको एक धार्मिक संस्थाबाट प्रहरीले नौ बालबालिकाको उद्धार गरेको छ । कानुनी रुपमा दर्ता नभइ सञ्चालन गरिएको न्युभिजन नामक बालगृहबाट कास्की जिल्ला प्रहरीले शनिबार नौ जना बालबालिकालाई उद्धार गरेको हो ।

ज्योती गुरुङले सञ्चालन गरेको उक्त बालगृह २०५९ सालमा दर्ता गरिए पनि २०७१ सालबाट नविकरण गरिएको थिएन । केन्द्रीय बालकल्याण समितिले ३ वर्ष अगाडि नै अनुगमन र परिक्षण गरि संस्था बन्द गर्न लगाएको थियो तर त्यसपछि पनि गुरुङले विना दर्ता नै संस्था चलाउँन थालेपछि बालबाललिकालाई कमाइ खाने भाँडो बनाउन नदिन बालबालिकाको उद्धार गरेको केन्द्रीय बालकल्याण समितिका स्रोत व्यक्ति बद्री वाग्लेले बताए ।

क्रिस्चियन धर्म पढाउने उक्त बालगृहबाट यस भन्दा पहिले पनि २ पटक गरेर २२ जना बालबालिकाहरुलाई उद्धार गरि जिल्ला बाल कल्याण समितिले अन्त व्यवस्थापन गरेको थियो ।

यस अघिपनि ज्योतिको संस्थाले क्रिस्चियन धर्मिहरुले प्रदान गरेको दान रकम समेत दुरुपयोग गरेको उजुरी परेको जानकारी बालकल्याण समितिका स्रोत व्यक्ति वाग्लेले बताए ।

शनिबार उद्धार टोली उक्त बालगृहमा पुग्दा बालबालीकाहरु पनि निस्कन मानेका थिएनन् साथै ज्योती पनि आफु व्यस्त भएको भनि संस्थामा आउन ढिलाइ गरेकी थिइन् । टोलीलाई त्यहाँबाट बालबालिकालाई उद्धार गर्न निकै समय लागेको थियो ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्