महिलालाई तेजाब छर्कने ट्राफिक प्रहरी धरौटीमा रिहा
सहयात्रा टिभी
चितवन । जेठ–५, एक महिलालाई तेजाब छर्कने ट्राफिक प्रहरीलाई अदालतले धरौटीमा रिहा गरेको छ । गत बैशाख ९ गते महिलालाई तेजाब छर्किएको आरोपमा पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौंडाले धरौटीमा रिहा गरेको हो ।
भरतपुर महानगरपालिका–४ त्रिचोकमा बसोबास गर्दै आएकी एक महिलालाई उनले शरिरका विभिन्न भागमा तेजाब छर्किएका थिए ।
अस्पतालबाट फर्किएपछि पिडित महिला र उनका श्रीमानले खनियाँ विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएका थिए ।
जिल्ला अदालतले खनियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै खनियाँले उच्च अदालत हेटौँडामा निवेदन पेश गरेपछि उक्त अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए ।


