कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???
सहायात्राटीभी : सामान्यतयाः नेपालको राष्ट्रिय युवा नीति अनुसार युवा भन्नाले १६ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरुलाई बुझिन्छ । मेरो बुझाइमा वैंशले नछोडेका, बुढेस्कालले नछोएका पाखुरीमा बल र मस्तिष्कमा आधुनिक क्षमता भएका व्यक्तिहरु नै युवा हन् । यी युवाहरुले देश विकासमा कस्तो भुमिका खेल्छन् भन्ने विषयमा प्रवेश गर्नुपूर्व विकास भनेको के हो बुझ्नु जरुरी हुन्छ । वास्तवमा देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा गुणात्मक हिसाबले सकारात्मक परिवर्तन हुँदै जानु नै विकास हो ।
देशको मेरुदण्ड अर्थात उर्जा मानिने युवाशक्ति देश विकासको मुल खम्बा हुन् । यहां भुत काल, बर्तमान र भविष्य कालको सामिप्यता एक अर्कासंग परिपूरक हुन्छ । एक बालकमा पुरै भविष्य हुन्छ, तर भुत कालको अनुभव हुँदैन, एक वृद्ध व्यक्तिमा भुत कालको लामो अनुभव हुन्छ, तर भविष्य हुँदैन । युवाशक्ति त्यस्तो शक्ति हो जसमा भुत कालको अनुभव र भविष्य दुवै हुन्छ । युवाले आफ्नो अनुभवका साथै अनुभवी अग्रजहरुद्धारा सल्लाह र सुझाव लिएर भोलिका युवा अर्थात आजका स–साना बालबालिकाहरुको निम्ति देश विकासमा योगदान गर्न सक्छन् ।
युवा जनशक्ति देश विकासको मुख्य आधार हुन् भन्दा पनि हुन्छ । प्रायः सबै देशहरुले राष्ट्रिय नीति तर्जुमा गर्दा आम युवा वर्गलाई केन्द्रविन्दु पारी तयार गर्दछन् । आज तपाईँ, हामीलाई विकसित मुलुक भन्नासाथ जति पनि विकसित राष्ट्रहरु छन्, जस्तै अमेरिका, अष्ट्रेलिया, स्वीजरल्याण्ड, सिंगापुर जस्ता मुलुकहरुको नाम फुर्दछन् यी देशले विकासमा गति लिनुमा युवा नेतृत्वको भुमिका महत्वपूर्ण छ ।
नेपालमा पनि देश विकास र अग्रगामी परिवर्तनका निम्ति युवावर्गले योगदान नदिएका भने होइनन् । राष्ट्र एकिकरणका निम्ति २० वर्षे युवक पृथ्वीनारायण शाह मैदानमा उत्रिएको इतिहास हामी भुल्न सक्दैनौँ । राणा शासन अन्त्य गरि मुलुकमा प्रजातन्त्र ल्याउन धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द जस्ता युवाहरुले गरेको संघर्ष र हाँसी हाँसी स्वीकारेको फाँसीलाई पनि नेपालका युवाजनशक्तिले मुलुकको परिवर्तनको निम्ति दिएको योगदानको गतिलो उदाहरण मान्न सक्छन् ।
देशमा आजसम्म भएका राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति एजेन्डा ल्याउने र आन्दोलनको नेतृत्व गर्ने अधिकांश शक्ति युवा नै हुन् । राज्यले लिएका हरेक विकासमा अभियान र महत्वपूर्ण कार्यक्रमहरुमा युवावर्गले नै महत्वपूर्ण भुमिका खेलेको पाइन्छ ।
नेपालको सीमा रक्षा, शान्ति सुरक्षा र जति पनि सुरक्षा निकाय छन्, त्यसमा करिव ७५ प्रतिशत युवा वर्गकै संलग्नता र योगदान रहेको देखिन्छ । नेपालको कुल अर्थतन्त्रको लगभग २५ प्रतिशत अर्थतन्त्र रेमिटेन्सले धानेको छ, जसमा कुल रेमिटेन्समध्ये लगभग ७० प्रतिशत युवा वर्गकै देन हो ।
देशको विकासका साथसाथै हरेक समस्या र अफ्ठ्यारा परिस्थितिहरुमा समेत युवावर्गको आवश्यकता पर्दछ । भैपरि आउने बाढि, पहिरो, भुकम्प, आगलागी जस्ता विपत्तिको अवस्थामा उद्धार र राहतका निम्ति कुनै बालक वा वृद्ध त्यहाँ पुग्न सक्दैन । त्यहाँ सबै भन्दा पहिले दरिलो खम्वाका रुपमा परिचित युवाहरुकै आँखा पुग्दछन्, युवाहरुकै पाइलाहरु अघि बढ्छन् र युवाहरुकै हातहरु लम्कन्छन् उद्धार र राहतका निम्ति । त्यसैले त देशमा हर समय खाँचो छ युवाजनशक्तिको ।
युवाहरुमा पहाडलाई मैदान र मरुभुमिलाई हराभरा बनाउँन सक्ने क्षमता रहेको हुन्छ । जोसजाँगर त हुन्छ नै नयाँ विचार, ज्ञान र आधुनिकताले भरिपूर्ण युवावर्ग बगेको खोला जस्तै हुन् । बगेको खोलामा बाँध बाँधेर जसरी विद्युत उत्पादन गरी सहि सदुपयोग गरिन्छ त्यसैगरि खेर गइरहेका युवाशक्तिहरुलाई पनि बाँध बाँध्नु जरुरी हुन्छ ।
युवाहरुको क्षमता र उर्जालाई बुझ्दाबुझ्दै पनि उनीहरुको क्षमताको कदर हुन नसक्दा नेपालमा लाखौँ युवाशक्ति खेर गइरहेको छ । युवाका निम्ति गतिलो राष्ट्रिय नीति बन्न नसक्दा, उनीहरुको क्षमताको मुल्याङकन नगरिँदा लाखौँ युवाहरुको उर्जा खेर जानु मात्र हैन, उनीहरुको उर्जाशिल जीवन नै बर्बाद भएको छ । ओठ माथि जुँगाका रेखी बस्न नपाउँदै पापी पेट पाल्न र परिवारको दुखः टाल्न भनेर विदेशिनुपर्ने युवाजनशक्तिको बाध्यतालाई यो देशले बुझ्न नसक्दा ति युवाको व्यक्तिगत पिडा त छँदै छ, देशले समेत ठूलो मात्रामा घाटा बेहोरिरहेको छ । फलतः रोजगारी र अवसरको अभावमा कैयाँै युवाहरु लागू पदार्थको दुव्र्यसनमा फसेर आफ्नो जिन्दगी बर्बाद गरेका छन् । घरपरिवार र समाज कै निम्ति बोझ भएर पनि बाँचिरहेका परिदृष्य तपाई हाम्रै समाजमा चित्रित भईरहेकै छन् ।
जलस्रोतको धनि देश नेपाल, हाम्रा देशका युवा आफुले खानेपानी किन्न विदेशिनु, बुद्धका देशका युवा शान्तिको खोजीमा पराइ भुमिमा भौतारिनु नै आज नेपालको विकास कछुवाको गतिमा हिड्नुको मुल कारण हो ।
युवामा क्षमता छ, युवामा जोसजाँगर छ, युवा देश विकासका औजार हुन् भन्ने थाहा हुँदाहुँदै पनि आखिर किन, प्रत्येक दिन हजाँरौ युवालाई परदेश धकेलिन बाध्य गराइँन्छ ? आखिर किन युवाशक्तिको सदुपयोग गर्न राज्य तत्पर छैन ? किन प्रतिफल पूर्ण युवा नीति ल्याइँदैन ? आखिर किन युवाको हातमा जिम्मेवारी र नेतृत्व दिन हात कमाइन्छ ? प्रश्नहरु एकमाथि अर्को थुप्रिरहेका छन्, तर यसको जवाफ, मौन छ, सुन्य छ, कतै भेटिदैन र यसको जवाफ दिन यो राज्य कहिल्यै तत्पर देखिएन । राज्यले केवल युवाजनशक्तिको शक्तिलाई अन्देखा गरिरहेको छ ।
जब आँखाहरु धमिल्याउन थाल्छन्, हस्ताक्षर गर्दा हातहरु काप्न थाल्छन्, निर्णय गर्ने बेलामा दोधारमा पर्छन तब देशको जिम्मेवारी सुम्पिइन्छ भने ती व्यक्तिबाट कस्तो विकासको आशा गर्ने ! कस्तो परिवर्तनको अपेक्षा गर्ने !
युवाहरुलाई दक्ष बनाएर परिचालन गर्न सके, युवाको क्षमतालाई मुल्याङ्कन गरि गतिलो र प्रतिफलमुखि युवानीति तर्जुमा गर्न सके, सक्षम युवाको हातमा जिम्मेवारी र नेतृत्व दिन सकेमात्रै मैले, तपाइँले र हामी सबैले साचे जस्तो सुन्दर, शान्त, सम्वृद्ध र विकसित मुलुकको निर्माण हुन सक्नेमा दुईमत छैन । यसका लागि कानो राज्यलाई पनि हामी सम्पूर्ण युवाहरु मिलेर घच्घच्याईराख्ने कि ???