भोट माग्न ढलको पानीमा सुतेर फेसबुक लाइभ गरेपछि
काठमाण्डौं । असार–२८, नेताहरुले चुनाव नजिकिँदै गर्दा जनताको मन जित्न अनेकौँ उपायहरु अपनाएको पाइन्छ । हामीले पनि नेताहरुले भोट माग्ने बेलामा अनेक नाटक तथा जात्रा गरेको प्रत्यक्ष देखेका छौँ तर एक नेताले भोट माग्न र जनताको मन जित्न यति सम्म पनि नौटङकि गरेका छन् कि हत्तपत्त विश्वास गर्न नै मुस्किल पर्छ ।
आम चुनावको सरगर्मी बढिरहेको बेला पाकिस्तानमा एकजना नेताले जनताको मन र भोट आफुतर्फ तान्नका लागि ढलबाट निस्किएको फोहोर पानीमा सुतेर फोटो खिचि फेसबुकमा हालेका छन् त्यति मात्र नभइ उनले ढलको पानीमा सुतेरै फेसबुक लाइभ समेत गरेका छन् ।
कराँचीको एन २४३ निर्वाचन क्षेत्रबाट चुनाव लडिरहेका स्वतन्त्र उम्मेदवार अयाज मेमोन मोतिवालाले आफुले जनताको दुखलाई राम्रोसँग बुझेको भन्ने देखाउनका लागि ढलमा सुतेका हुन् ।
आफ्नो क्षेत्रका मानिसहरु ढलको समस्याबाट गुज्रिरहेको कुरा आफुलाई जानकारी रहेको भन्दै उनले वर्तमान सरकार र विपक्षी दलहरुलाई नैतिक दबाब दिन आफुले यस्तो काम गरेको बताए ।
उनले चुनावको प्रचारप्रसार गर्ने क्रममा फोहोरको थुप्रोबाट कयौँ पटक भाषण समेत गरेका छन् ।