केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आमाको नामबाट नागरिकता दिलाउन लड्छौं : महिला सांसद

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२५, आमाको नामबाट मात्र नागरिकता बनाउन पाउने कानुन बनाउन आफुहरु सक्दो लड्ने महिला सांसदहरुले बताएका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पाँच सांसदले सरकारले जस्तो विधेयक ल्याएको भए पनि आमाको नामबाट सहजै नागरिकता पाइने कानुन बनाउन आफूहरू प्रतिवद्ध रहेको बताएका हुन् ।

विधेयकमा आमाको नामबाट नागरिकता बनाउँदा बाबुको नाम र पहिचान अनिवार्य कबुल गर्नु पर्ने व्यवस्था छ। तर बाबुको नामबाट नागरिकता लिँदा आमाको पहिचानको भने कुनै आवश्यकता पर्दैन् ।

साउन २२ गते सरकारले संसदमा दर्ता गरेको नागरिकतासम्बधी संशोधन विधेयकले पुरुषलाई पहिलो र महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको छ।
विधेयकअनुसार सन्तानले आफ्नो बाबुको पहिचान हुन नसकेको प्रमाणसहित स्वघोषणा गर्नुपर्नेछ।

यहि विधेयक पास भएमा आमाको नामबाट मात्र नागरिकता पाउन मुस्किल पर्ने हुँदा आमाका नामबाट सहजै नागरिकता दिलाउन कस्तो व्यवस्था गर्ने भन्नेबारे महिला सांसदहरुले अध्ययन गरिरहेको सांसद विन्दा पाण्डेले बताइन् ।

सांसद जयपुरी घर्तीले भनिन्, ‘सैद्धान्तिकरूपले हामी आमाको नामबाट मात्र नागरिकता दिने व्यवस्था हुनुपर्छ भन्नेमै हो, यसका लागी हामी सक्दो लड्नेछौँ ।’

कांग्रेसकी सांसद प्रमिला राई आमाको नामबाट सहजै नागरिकता नदिने विधेयकमा आफूले संशोधन हाल्ने बताउँछिन्।

सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले नागरिकतामा महिला पुरूषको समान हैसियतसहितको कानुन ल्याउन आफूले संसदमा आवाज उठाउने बताइन्।
नागरिकतामा महिला र पुरुषको समान हक हुनुपर्छ भन्नेमा सम्पूर्ण महिला सांसदहरु एकताबद्ध भएर आवाज उठाउने भएका छन् ।

प्रकाशित : 10 August, 2018

प्रतिक्रिया दिनुहोस्