केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विरगञ्ज र वुटवलमा पनि एनालग केवल बन्द

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१०, प्रदेश नं. १ को विराटनगर र इटहरी पछि सरकारले विरगञ्ज र वुटवलमा पनि अनुगमन गरि एनालग प्रविधिबाट संचालित केवल बन्द गराएको छ । सम्पूर्ण टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने सञ्चार मन्त्रालयको अभियानअनुसार देशभर नै अनुगमन कार्यलाई तिव्र पार्दै विरगञ्ज र वुटवलमा पनि एनालग केवल बन्द गराएको हो ।

सञ्चार मन्त्रालयबाट अनुगमनमा खटिएका टोलीले करिब एक महिना अघि प्रदेश नं. १ को विराटनगर, इटहरी लगायतका ठूला शहरहरुमा अनुगमन गरि एनालग केवल बन्द गराएको थियो भने हाल वुटवल र विरगञ्ज लगायतका शहरहरुमा पनि अनुगमन भइ एनालग केवल बन्द भइसकेको छ । सञ्चार मन्त्रालयबाट गत वैशाख १५ बाट नै सम्पूर्ण एनालग केवल सञ्चालकहरुलाई केवल बन्द गर्न पत्र पठाएको थियो । मन्त्रालयबाट एनालग केवल बन्द गर्न पटक पटक सुचना र चेतावनी दिए पनि केवल बन्द नगरेपछि मन्त्रालयले अनुगमन गरेर नै केवल बन्द गराउने अभियान सुरु गरेको हो ।

अब छिट्टै नै पोखरा, चितवन, नेपालगञ्ज, धनगडि लगायतका देशभरका मुख्य मुख्य शहरहरुमा पनि अनुगमन गर्ने सञ्चार मन्त्रालयको तयारी भइरहेको सुचना तथा सञ्चार प्रविधि मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर अनिल भुजेलले जानकारी गराए । देशका ठूला शहरहरुको अनुगमन कार्य सकिए लगत्तै साना साना शहर र गाउँहरुमा पनि अनुगमन गरि एनालग केवल बन्द गराएर डिजिटल प्रविधिमा रपान्तरण गर्न लागि पर्ने इन्जिनियर भुलेजले बताए ।

एनालग केवलहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सञ्चार मन्त्रालयले असार मसान्तसम्मको समय तोकेको थियो । असार मसान्तपछि पनि एनालग रुपमा नै सञ्चालन गरिँदै आएका सम्पूर्ण केवल नेटवर्कहरु अवैधानिक ठहरिने छन् ।

सरकारले एनालग प्रविधिमा सञ्चालन भइरहेका केबल टेलिभिजनको नवीकरण पनि श्रावणबाट बन्द गरेको छ । नवीकरणमा रोक लगाइएका केवलहरुले श्रावण पछि नवीकरण गर्न चाहेमा प्रत्येक महिना १० प्रतिशत बढि जरिवान तिरेर मात्र नवीकरण गर्न पाउने, मंसिरमा ५० प्रतिशत जरिवाना तिरेर नविकरण गर्न सक्ने, पुषमा नविकरण गर्न चाहे १०० प्रतिशत नै जरिवाना तिर्नु पर्ने र पुष सम्म पनि नविकरण नगरिएका सम्पूर्ण केवल नेटवर्कहरु स्वत खारेज गरिने व्यवस्था सञ्चार मन्त्रालयले मिलाएको इन्जिनियर भुजेलले जानकारी गराएका छन् ।

इटहरी, विराटनगर, विरगञ्ज, वुटवल लगायतका शहरहरुमा अनुगमन गरि एनालग केवल बन्द गराइसकेको सञ्चार मन्त्रालयले अब चाँडैनै पोखरा, चितवन, नेपालगञ्ज, धनगडि लगायतका ठूला शहरहरु हुँदै सातै प्रदेशमा अनुगमन गरि एनालग प्रविधिबाट सञ्चालित केवलहरु बन्द गराउन तिव्र तयारी गरिरहेको छ । एनालग प्रविधिबाट टेलिभिजन हेरिरहेका मानिसहरुले हाल एनालग केवल बन्द भएपछि डिस होमतर्फ बढि आकर्षित भएको देखिन्छ । एनालग केवल बन्द भएका शहरहरुमा डिस होम जडान गर्ने ग्राहकहरुको संख्या ह्वात्तै बढेको पाइएको छ ।

हालसम्म एनालग प्रविधिबाट नै टेलिभिजन हेरिरहेका अन्य ठाउँका मानिसहरुले पनि अग्रिम रुपमा सजग भइ वैकल्पिक उपाय खोज्नु बुद्धिमानि हुने देखिन्छ ।

प्रकाशित : 27 August, 2018

प्रतिक्रिया दिनुहोस्