ठगी मुद्दाका नाइके सुजनलाई प्रहरीले गोली हानेर पक्राउ

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २०, ८ वटा ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गर्‍यो ।

सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए ।

‘पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि एक राउन्ड हवाई फायर र एक राउन्ड घुँडामुनि गोली हानेर सुजनलाई पक्राउ गरिएको हो,’ एसएसपी घिमिरेले भने ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय सुजनलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ गाम्चा भन्ने ठाउँमा गोली हानेर पक्राउ गरेको हो ।

परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोली पक्राउका लागि जाँदा प्रहरीलाई नै चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट एक प्रहरी घाइतेसमेत भएका छन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनी डलर भन्दै कागजको मुठो देखाएर ठगी गर्ने काममा संलग्न रहेको दाबी प्रहरीको छ । पछिल्लो समय २२ असोज २०८३ मा उनले विभिन्न व्यक्तिलाई फोन गर्दै आफूसँग अमेरिकी डलर रहेको र सस्तो दरमा साट्ने भन्दै उनले ठगी गरेको एसएसपी घिमिरेले बताए ।

फोन गर्दै विश्वास दिलाएपछि अमेरिकी डलर ५० को नोट साट्न दिएको र २३ असोज २०८३ मा गोकर्णेश्वरस्थित लसुनटारमा बोलाएर दुई जना व्यक्तिबाट ८–८ लाख रुपैयाँ लुटी फरार भएको प्रहरीले बताएको छ ।

उनले विभिन्न समूह बनाई उपत्यकाका विभिन्न ठाउँहरूमा डलर साट्ने भन्दै ठगीको धन्दा चलाउँदै आएका छन् । पक्राउ परेका सुजनको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गर्दा यसअघि ८ वटा ठगीको मुद्दा चलिसकेको पाइएको छ ।

१५ मंसिर २०८० मा प्रहरी वृत्त स्वयम्भूबाट उनीविरुद्ध ठगीको मुद्दा चलेको पाइएको छ । स्वयम्भूबाटै २३ फागुन २०८० मा अर्को ठगीको मुद्दा चलेको सीआरएसमा देखिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट ८ साउन २०८१ मा ठगी, १ कात्तिक २०८१ मा स्वयम्भूबाटै ठगी, १६ मंसिर २०८२ मा इलाका प्रहरी कार्यालय बाह्रबीसे सिन्धुपाल्चोकबाट ठगीको मुद्दा चलेको पाइएको छ ।

त्यस्तै, २८ मंसिर २०८२ मा प्रहरी वृत्त महाराजगञ्जबाट ठगी, १ पुस २०८२ मा प्रहरी वृत्त बौद्धबाट ठगी र ८ चैत २०८२ मा प्रहरी वृत्त सातदोबाटोबाट ठगीको मुद्दा चलेको प्रहरीले बताएको छ ।

प्रकाशित : 6 November, 2026

प्रतिक्रिया दिनुहोस्