एसियाली खेलकुद : प्याराग्लाइडिङमा नेपाललाइ रजत

काठमाण्डौं । भदौ–१३, १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । इन्डोनेसियामा भइरहेको प्रतियोगीतामा आज पाँचौं चरणको खेल सकिएसंँगै नेपालले रजत पदक जितेको हो ।
यस खेलमा जापानले स्वर्ण पदक जितेको छ भने आयोजक देश इन्डोनेसियाले कास्य पदक जितेको छ । नेपालले बुधबारको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो । पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो ।
जापानले कुल ११ हजार ३ सय ९१ स्कोर गरि स्वर्ण पदक जितेको हो भने नेपालले ११ हजार ३ सय ६४ स्कोर गरि रजत जितेको हो ।
एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठुलो पदक हो। सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।
नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापाले प्रतिस्पर्धा गरेका थिए।