फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन महासङ्घको माग
काठमाण्डौं । भदौ–१७, मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले माग गरेको छ । शनिबार बसेको समितिको बैठकले भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता, मुलुकी (देवानी) संहितालाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको हो ।
उक्त संहितामा रहेका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले स्वतन्त्र रुपमा समाचार सङ्कलन, प्रकाशन र प्रसारणमा बाधा पुग्ने व्यवस्था तत्काल संशोधन गरी पत्रकारिताको स्वतन्त्र अभ्यासमा सहयोग पु¥याउन सरोकारवाला सबै पक्षसँग महासंघले आग्रह समेत गरेको छ ।
त्यसैगरि उक्त समितिले गम्भीर दुर्घटनामा परेका वा मुटु, मिर्गौला, रक्त क्यान्सर, क्यान्सर, ब्रेन ट्युमर जस्ता गम्भीर प्रकृतिका रोगबाट पीडित पत्रकारको उपचारमा सहयोग गर्न र अल्पआयुमै मृत्यु भएका पत्रकारहरुको आश्रीत परिवारलाई तत्कालका लागि केही सहयोग पु¥याउन एक छुट्टै कोष समेत स्थापना गर्ने भएको छ ।