५४ लाख अवैध रुपैयाँसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा । भदौ १८, हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद पैसा आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएको नेपाली मुद्राको अवैध ओसारपसार अनुरुप रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
वीरगञ्जमा हुण्डी कारोवार भएको सूचनाका आधारमा कारवाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुई जना भारतीय र तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरीले अवैध कारोवारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासिनी गाउँपालिका–५ निवासी पवनकुमार गुप्ता, वीरगञ्ज–६ निवासी अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ निवासी अजयकुमार जैशवाल, भारत विहार रक्सौल निवासी अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।