आज मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौं । भदौ–२४, आज भाद्र कृष्ण औँसीका दिन राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी परलोक भएका थिए ।
भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका छन् । नेपालमा छापाखाना भित्राएको श्रेय समेत उनले नै पाएका छन् ।
उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् ।
युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए ।