केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तरुण दलका अध्यक्ष हत्याको विरोधमा रोल्पा बन्द

सहयात्रा टिभी

रोल्पा । भदौ–२५, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले आफ्ना अध्यक्षको हत्या भएको विरोधमा सोमबार बिहानैबाट रोल्पा जिल्ला बन्द गरेको छ। तरुण दल रोल्पा नगरसभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो ।

लिवाङ नगरसमितिका तरूण दलका अध्यक्ष सिमलवाङ निवासी २९ वर्षीय रोहित पुनको आइतबार बेलुका गोली हानी हत्या भएको थियो।
तरूण दल रोल्पाका जिल्ला सचिव लिलाधर आचार्यले सोमबार बिहान ८ बजेदेखि रोल्पा बन्द गरेको र बन्द बेलुका ४ बजेसम्म कायमै रहने जानकारी गराएका छन् । त्यसका सबै दोषीहरू पक्राउ गरिनुपर्छ। उनीहरूमाथि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो,’ सचिव आचार्यले भने।

यसैबीच, नेपाली कांग्रेसले पनि आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजिकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ । कांग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

आइतबार गोली लागी मृत्यु भएका पुनको छातीमा दुई र पेटमा एक गोली लागेको थियो । गोली कुनै अज्ञात समुहले नभएर एउटै टेवलमा वसेका व्यक्तिले नै चलाएका थिए। गोली देवबहादुर घर्तीले चलाएका थिए। पुन र घर्तीको पुरानै दुस्मनी रहेको थियो। उनीहरूको पहिलेकै दुष्मनीलाई लिएर गोली चलाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका घर्तीले आफूले गोली चलाएको स्विकार समेत गरिसका छन्। घर्तीको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल समेत बरामद गरेको डिएसपी खड्काले बताए।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्