तीज संस्कृति कि विकृति ?

सहयात्रा टिभी

सहायात्राटीभी : नेपाली हिन्दु नारीहरुको महान र पवित्र पर्व, आज देशभर निकै हर्षोउल्लासका साथ मनाइँदै छ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । घरमा सासु, ससुरा, नन्दअमाजु सबैले दिएका पिडा र दुखलाई भुलेर माइतमा सबै चेलीवेटि भेला भई दुखसुखका कुरा गर्दै गीतसंगितमा भुल्ने प्रयास गर्छन् । भगवान शिवको पुजाआराधना गर्ने, भजनकृतन गर्ने नाच्ने गाँउने र विवाहित महिलाहरुले पतिको लामो आयु र अविवाहित नारीले असल पति पाउँ भनि व्रत बस्ने परम्परा रहेको छ ।

तर आजभोली समयसँगसँगै रितिरिवाज र चाडपर्वमासमेत विकृति भित्रिदैँ गएको छ । अझ तीज पर्वले त झनै समाजमा अपाच्य विकृति नै भित्राएको छ भन्दा पनि अत्युक्ति नहोला । तीजको दर खाने बाहानामा महिलाहरुले महिनौँ अघि ठूल्ठूला होटलमा पार्टि गर्ने गरेको पाइन्छ । महिनौँ अघिदेखि खर्चालु हिसावले दर खाने अनि पतिको आयुको लागी भनेर एक दिन व्रत बस्ने प्रवृति नाटकिय बन्दै गएको भान हुन थालेको छ । तीजमा दर खाने नाममा खाइने अनेक कुराहरुमासमेत विकृति नै देखिन्छ । दर भनि पार्टिको आयोजना गर्ने र मध्यपानको सेवन गर्ने महिलाहरु पनि शहर बजारमा प¥र्याप्त देखिन्छन् । यसले चाडपर्वप्रतिकै चिन्तनमा धब्बा लागाइरहेको देखिन्छ । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ ।

तीज मनाउने आजभोलीको नयाँ शैलीले धनि र गरिब विचको खाडल अझै गहिरो बनाउँदै लगेको स्पष्ट देखिन्छ । तीज मनाउन भेला हुने अधिकांश महिलाहरुमा डाहा र ईष्याको भावनासमेत हुन्छ । कस्ले कस्तो साडि लगाएको छ, कस्ले कति गरगहना लगाएका छन् सबैको ध्यान त्यसमै केन्द्रित होकि जस्तो पनि देखिन्छ । किनकी प्रायः महिलाहरु आवश्यक भन्दा वढि अनावश्यक कुरामा सिको गरेको देखिन्छ । महिलाहरुको यस्तो प्रवृतिले आर्थिक रुपमा केहि कमजोर महिलाहरुले हिनताबोध गर्न थाल्छन् । सबैले आफुलाई हेयको दृष्टिले हेरेको महसुस गर्छन् । फलस्वरुप समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विकृति फैलन्छ ।

त्यसैगरि पछिल्ला वर्षहरुमा तीज गीत भनेर निकालिने गीतहरु समाजमा पाच्य नै छैनन् । तीजको व्रतको दिन गीत बजाएर नाचेर रमाइलो गरिन्छ । परिवारमा, दाजुभाई, बुबाआमाको साथमा बसेर नाच्दै, रमाइलो गरिरहँदा पनि कति बेला सुन्नै नसकिने गीत पो बज्छ कि भनेर डराइ डराइ बस्नेपर्ने अवस्था समेत आइसकेको छ । छाडा प्रवृतिका उर्छिङ्खल गीतहरुले समाजमा तीजप्रतिको भावना नै नकारात्मक बनाइरहेको छ ।
यसरी नै चाड पर्वहरुमा विकृति फैलदैँ जाने हो भने एक दिन चाडपर्वको वास्तविकता नै लोप भएर जानेमा कुनै शंका छैन् । सरल रुपमा दिदिबहिनी माइतीमा भेला भई दर खाएर व्रत बसेर मनाइने चाड तीज महिनौँ अघिदेखि घरघरमा, होटल होटलमा पार्टि आयोजना गरेर मनाउनु, दरको नाममा मध्यपानको सेवनलाई प्राथमिकता दिनु, लुगा र गरगहनाको प्रदर्शनलाई प्रथमिकता दिनु, उछ्र्र्र्रिङखल गीतहरु सार्वजनिक गरिनु र सोहि गीतहरुमा नाच्नु आदि सबै विकृतिका संकेत हुन् । यसले विस्तारै विकृतीको रुपमा विकसित भइ एक दिन तीज पर्वको वास्तविकता नै हराएर जानेछ । समाजका भद्र गरि विकृतिलाई हटाई आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्न सबै सजग हुनु जरुरी देखिन्छ ।

प्रकाशित : 12 September, 2018

प्रतिक्रिया दिनुहोस्