गौतम बुद्ध जन्मेको देशमा शान्तिकै अनिकाल छ : प्रसंग निर्मला हत्याकाण्ड
सहायात्राटीभी : आज निर्मला नाम सुन्ना साथ आङ सिरिङ्ग हुन थालेको छ । जताततै निर्मला, निर्मला सुनिइरहँदा निर्मलाका लागी भएका आन्दोलन, निर्मलाका विषयमा बनेका समाचार, भिडियो, कथा र कविताहरु सुनिरहँदा टाउको भारि भएर आउँछ, मुटुमा केहिले थिचेजस्तो लाग्छ, गला अबरुद्ध भए जस्तो,घाँटिमा केहि गाँठो परेजस्तो अनि उकुस मुकुस भइन्छ आँफैभित्र । हो आज यहि पिडा महशुस गरिरहेका छन् सारा नेपाली छोरीहरुले । आज सारा नेपालीहरुले चिच्याइ चिच्याइ न्याय मागिरहेको केवल कञ्चनपुरकी निर्मला पन्तको लागी मात्र होइन् यो आवाज हजारौँ, लाखौँ निर्मलाका लागी हो । यो आवाज अनाहकमा हत्या गरिएकी १३ वर्षीया निर्मलाको लागी मात्र होइन् बाँचेका लाखौँ निर्मलाको बाँच्ने अधिकारका लागी पनि हो ।
खोला छ झरना छ त्यहिँ मुनी ताल छ
गौतम बुद्ध जन्मेको देशमा शान्तिकै अनिकाल छ
वास्तवमा आज देशमा भइरहेको अवस्थाले मन निकै पोल्ने बनाएको छ । शान्तिको खानी भनिने देशमा आज जताततै अशान्ति नै अशान्ति छाएको छ । हत्या, हिंसा, बलात्कार अनि डर र त्रासबाहेक अरु केहि कसैलाई हात लागेको देखिदैन । छोरा छोरी घर नफिरुन्जेल आमा बाबुको मुटुको ढड्कन शान्तिसँग चल्दैन । आफुबाट टाढा भएका छोराछोरीको पिरलो शब्दमा व्यक्त नै गर्न सकिन्दैन । आमा बाबुको पिर त छ नै प्रत्येक छोरीहरु आफैँमा असुरक्षित महशुस गरिरहेका छन् । आफ्नै हुँ भन्नेहरुको पनि डर छ, दाईको पनि डर बाबुको पनि डर, पल्लो घरको काका अनि तल्लाघरे अंकल, विद्यालयको गुरु अनि कार्यालयको सिनियर हाकिम कसैको विश्वास छैन् कसैको भर छैन् । अब यस्तै हो भने के आधारमा बाँच्ने नारीहरुले ।
सुरक्षा त छैन नै अन्यायमा परिसकेपछि न्यायसम्म पनि नपाइने कस्तो बिडम्बना । एउटी १३ वर्षीया निर्मला पन्त जो भर्खर मात्र किशोरावस्थामा प्रवेश गर्दै थिइन । बलात्कार गरेर हत्या गरिएको आज ५१ औं दिन वितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । ठूला ठालुहरुबाटै अपराधी लुकाइएको भन्ने कुरा जगजाहेर छ । घटना दिनप्रतिदिन नाटकिय र रहस्यमय बन्दै गएको छ । निर्मलाकै नाममा आन्दोलन, हड्ताल, वरोध प्रदर्शन भइरहेका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली लागी एक बालकले समेत अनाहकमा ज्यान गुमाउन पुगेका छन् । आफुहरुले न्याय नपाए अरु छोरीहरु के भनेर पालौँ भन्ने आमा बाबुको प्रश्न जवाफहिन भएको छ । निर्मला हत्या काण्डले देशमा उग्र रुप लिइरहँदासमेत सम्बन्धित निकायबाट भने जागरुकता देखाइएको पाइदैन । मान्छे मरेको वा कुकर मरेको यहाँ कुनै फरक नभए झैँ बनेको छ ।
घटनालाई केवल मस्तिष्कले सोच्नेहरु धेरै भए । भावना र मानवताको हेराइ नभएरै अहिलेसम्म आलटालमा बितिरहेको छ । सम्बन्धित निकायमा रहनेहरुले किन निर्मलाको ठाउँमा आफ्नी छोरी देख्दैनन् ? किन निर्मलाले भोगेको पिडा र यातनालाई एक पटक परिकल्पना गरेर हेर्दैैनन् ?
भर्खर किशोरावस्थामा प्रवेश गर्दै गरेकी निर्मलालाई कति गाह्रो भयो होला ती मानवरुपी राक्षसहरुले चिथोरिरहँदा, कति चिच्याइ होलीन् ती राक्षसहरुले उसका भर्खर उम्रदै गरेका छाती जबरजस्ती मुसारिरहँदा, सहन नसकेर कति आशु बगाइ होलीन् त्यो अपरिपक्क योनीमा त्यो राक्षसको हुलले जबरजस्ती गरिरहँदा । कति गाह्रो भयो होला उसलाई त्यो दुई चार जनाको हुलले केराको पात च्याते झैँ चिरा चिरा पारेर च्यातेको शरिर त्याग्न ।
सम्झँदा पनि मन भक्कानिएर आउँछ, मुटु फुट्ला जस्तो हुन्छ । चिच्याएर रोउँ जस्तो हुन्छ । श्वास फेर्न गाह्रो हुन्छ । मन भएका मान्छेहरुलाई कल्पना गर्नसम्म पनि गाह्रो हुन्छ । के ती अपराधीहरुलाई मानवताले केहि फरक पर्दैन ? कोहि चिच्याइरहँदा, आशु झारीरहँदा उसैलाई लुटेर कसरी आनन्दको महशुस गर्न सक्छन् ? अपराधी त अपराधी भए बलात्कारी त बलात्कारी भए बलात्कारी र अपराधीहरुलाई ढाकछोप गर्ने र बचाउनेहरुका घरमा के छोरी छैनन् ? उनीहरुले एक पटक आफ्नी छोरीको अनुहारमा निर्मला देखेनन् होला ? सम्बन्धित निकायले अब पनि जागरुकता नदेखाउने हो, तत्परता नदेखाउने हो भने यो घटनाले उग्ररुप लिनेछ । देशमा आतंक फैलाउने छ । एकातिर अपराधीको मनोबल बढी अपराध बढ्दै जाने छ भने अर्कोतिर जनताको उग्ररुपलाई राज्यले सामना गर्नुपर्ने अवस्था आउने छ ।