अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

सहयात्रा टिभी

अत्तरिया । असोज–९, प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ ।

पहाडी जिल्लाका सात जिल्ला समन्वय समिति तथा नगरपालिका र गाउँपालिका गरी ६६ स्थानीय तहका जनप्रतिनिधिले हालसम्म कार्यालयमा सम्पत्ति विवरण नबुझाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी देवेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असोज मसान्तसम्म ७ नं प्रदेशका चार हजार ५६ जनप्रतिनिधिले आफ्नो सम्पत्ति विवरण बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ । सार्वजनिक पदधारण गरेका व्यक्तिले अनिवार्यरुपमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

निर्वाचित जनप्रतिनिधिले सम्वन्धित स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण दर्ता गरिसक्नुपर्ने समय सिमा समाप्त भइसकेको छ तर मन्त्रीपरिषद कार्यालयमा बुझाई सक्नुपर्ने समय अझै बाँकी रहेकाले असोज मसान्तभित्र सबै स्थानीयतहका जनप्रतिनिधिको विवरण आउनेमा अपेक्षा गरिएको छ ।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्